काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मालाई सम्बनिधत क्षेत्रका समस्या बारे ध्यानाकर्षण गराएको छ ।
नासाले नवनिर्वाचित सांसदद्धयलाई बधाइ दिँदै नेपाली सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटनका विषयमा ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरेको हो ।
नेपालका दर्जनौं संघसंस्थाहरूले निर्वाचनपूर्व नै रास्वपा लगायतका प्रमुख राजनीतिक दलहरूलाई यस्ता सुझावहरू प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित सांसद तथा पूर्वाधारविद् आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन, सडक सुरक्षा सम्बन्धी, ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।
पूर्वाधारविद् आशिष गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल अटोमोबाइल्स एसोसिएसनप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै संघका दक्ष, योग्य र क्रियाशील व्यक्तिहरूलाई आगामी सरकारका कदमहरूमा साथ दिन अनुरोध गरे ।
यसैगरी, अर्का सांसद सोम शर्माले नेपाली खेलकुद, विशेषगरी साहसिक खेलकुद क्षेत्रमा आफ्नो सक्रिय नेतृत्व रहने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि नासा नेपाल र अल्पाइन स्पोट्र्स फेडेरेसन-नेपालका पदाधिकारीहरूको सहयोग र समर्थनको अपेक्षा व्यक्त गरे ।
साथै, उनले गण्डकी प्रदेश र बागलुङलाई नेपाली साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रका रूपमा विकास गर्न आफू क्रियाशील रहने प्रतिबद्धता जनाए ।

