नेपाल आयो एक्सयूभी ७००, यस्ता छन् फिचर

काठमाडौं । लामो आयात प्रतिबन्ध खुलेसँगै नयाँ गाडी नेपाल आउन थालेको छ । यही क्रममा महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाल ल्याएको छ । अहिलेसम्म यसको आधिकारीक विक्री सुरु हुने मिति र मूल्यको विषयमा जानकारी प्राप्त नभएपनि गाडी भने नेपाल आएको हो ।

महिन्द्राले अहिलेसम्म बजारमा ल्याएको मध्य सबैभन्दा धेरै हाइटेक फिचर पाउन सकिने एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम, लोभलाग्दो र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी छ ।

एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको छ । यही सिस्टमको कारण चालकलाई सधैँ सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ ।

उच्च गतिमा गाडी गुडाउन पनि यो सिस्टमले चालकलाई दिने छैन । बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी भएको जनाएको छ । उक्त सिस्टमले चालकको बानी व्योहोरालाई राम्रोसँग विष्लेषण गरेर बेला बखतमा वार्निङ गरिरहने छ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् ।

महिन्द्राले एक्सयूभी-७०० लाई ५ र ७ सिट क्षमतामा ल्याउने छ । कम्पनीले यसमा निकै पावर फुल इन्जिन दिएको छ । २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिनमा आउने एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ ।

यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने, पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

सुरक्षाको हिसावले पनि एक्सयूभी-७०० उत्कृष्ट रहेको छ । यसले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो । यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

एक्सयूभी-७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।


Back_to_top