भारतमा आयो टीभीएस आइक्यूवको टप भेरियन्ट, नेपालमा चाँडै विक्री सुरु हुने

काठमाडौं । अटो एक्स्पो २०२३ मा टीभीएस मोटर्सले आइक्यूवको नयाँ भेरियन्ट प्रदर्शन गरेको छ । अहिले आइक्यूवको दुई भेरियन्ट विक्री हुँदै आएको छ भने टप भेरियन्ट पनि कम्पनीले सार्वजनिक गरेको छ ।

टीभीएस मोटर्सले इलेक्ट्रीक स्कुटर आईक्यूवको एसटी भेरियन्ट प्रदर्शन गरेको हो । हाल कम्पनीसँग आइक्यूवको स्ट्याण्डर्ड र एस भेरियन्ट उपलब्ध रहेको छ ।

आइक्यूवको अन्य दुई भेरियन्टको तुलनामा एसटी भेरियन्टको टप स्पीड क्षमता र रेन्ज धेरै रहेको छ । आइक्यूव एसटी भेरियन्टको डिजाइन समान छ । केबल एसटीको ब्याचले फरक देखाएको छ । साथै, एसटी नयाँ कलर अप्सन उपलब्ध हुनेछ ।

कम्पनीले एसटी भेरियन्टमा ४.५६ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । अघिल्ला भेरियन्टमा ३.०४ किलोवाट आवरको ब्याट्री थियो । टीभीएसको दावी मान्ने हो भने एसटी भेरियन्टले इको मोडमा १४५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

आइक्यूव एसटी भेरियन्टमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिधन्टा रहेको छ ।

भारतमा यसको टप भेरियन्ट सार्वजनिक हुँदै गर्दा नेपाली बजारमा टीभीएस आइक्यूवको विक्री सुरु गर्ने तयारीमा जगदम्वा मोटर्स रहेको छ । जगदम्वा मोटर्सले टीभीएस आइक्यूव मार्च २०२३ को अन्तिमसम्ममा विक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

टीभीएस आइक्यूव नेपालमा सार्वजनिक हुँदा ४ लाख रुपैयाँभन्दा कम मूल्यमा विक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top