काठमाडौं । यामाहाले भारतमा अहिले १२५ सीसी सेग्मेन्टमा एउटा मात्रै मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल उत्पादन गर्ने अन्तिम तयारी गरिरहेको छ ।
यामाहाको सर्वाधिक सफल मोडल एफजेडएसलाई १२५ सीसी क्षमताको इन्जिनमा यही २०२२ बाट विक्री सुरु गर्ने मिडिया रिपोर्टहरुले दावी गरेका छन् । यद्यपी यसको विषयमा अहिलेसम्म कम्पनीको आधिकारीक धारणा भने आएको छैन ।
बजाजले पल्सर १२५ बाट पाएको सफलतालाई हेरिरहेको यामाहाले आफ्नो चर्चित मोटरसाइकल एफजेडएसमा १२५ सीसी सिंगल सिलिण्डर, ब्लूकोर एफआई इन्जिन दिने छ । उक्त इनिजनले अधिकतम ७२५० आरपीएममा १०.५ हर्स पावर र ५५०० आरपीएममा ११ एनएम टर्क प्रदान गर्ने रिपोर्टहरुमा दावी गरिएको छ ।
अगाडि डिस्क र पछाडि ड्रम ब्रेकमा आउने अनुमान गरिएको एफजेडएस १२५ स्टील फ्रेममा बन्ने उल्लेख छ । साथै, यसमा अगाडि टेलिस्कोपीक र पछाडि हाइड्रोलीक मोनो शक रहने छ । १७ इन्चको अलोय ह्वील, १३ लिटर क्षमताको इन्धन ट्याङ्क, १६५ एमएमको ग्राउन्ड क्लियरेन्स र १३३० एमएमको ह्वीलवेसले यो मोटरसाइकल उत्कृष्ट हुने दावी मिडियाहरुले गरेका छन् ।
पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी हेडलाइट, बल्ब टर्न लाइट, इन्जिन किल स्वीच, ट्यूवलेस टायर जस्ता फिचर यसमा उपलब्ध हुने दावी गरिएको छ ।

