यामाहाले वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर नेपालमा बनाउने

काठमाडौं । जापानी मोटरसाइकल उत्पादक कम्पनी यामाहाको मोटरसाइकल तथा स्कुटर नेपालमा एसेम्बल गर्न उद्योग दर्ता भएको छ । अहिले यामाहाको आधिकारीक विक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेजले नै एसेम्बल उद्योग दर्ता गरेको हो ।

मोरङको टंकीसुनुवारीमा उद्योग रहनेगरी ‘एमएडब्लू अटो प्रालि’ नाम राखेर २०७८ असोज १० गते उद्योग विभागमा दर्ता भएको हो । उद्योग विभागका अनुसार एमएडब्लू अटोले एसेम्बल प्लान्ट स्थापना गर्न १ अर्व ५१ करोड ५० लाख रुपैयाँ खर्च गर्ने छ ।

कम्पनीले उक्त प्लान्टबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार यूनिट स्कुटर उत्पादन गर्ने योजना बनाएको छ । उक्त उद्योगमा १४४ जना दक्ष जनशक्तिले रोजगारी पाउने उल्लेख गरिएको छ ।

यामाहाका मोटरसाइकल नेपाली बजारमा राम्रो संख्यामा विक्री हुँदै आएका छन् । नयाँ सरकारले बजेट मार्फत नेपालमा एसेम्बल गर्ने माेटरसाइकल उद्योगलाई ५० प्रतिशत भन्सार छुट दिने घोषणा गरेसँगै यामाहाले नयाँ उद्योग दर्ता गरेको हो ।

अहिले यामाहाका एफजेड सिरिज, एमटी १५, आर १५ जस्ता मोटरसाइकल चल्तीका मोडल हुन् भने फसिनो र रेजेडआर स्कुटर धेरैले मन पराएका छन् ।


Back_to_top