काठमाडौं । नाडा अटो शो नजिकिएसँगै थुप्रै कम्पनीहरूले नयाँ प्रडक्ट लञ्चको तयारी गरिरहेका छन् । जापानको टु–ह्वीलर उत्पादक कम्पनी यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले नाडा अटो शोको १३ औँ संस्करणमा विभिन्न मोटरसाइकल तथा स्कुटर शोकेस गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले विशेष गरेर एउटा नयाँ माेडलकाे बाइक र एक नयाँ माेडलकाे स्कुटर सावर्जिनक गर्ने तयारी गरेकाे छ ।
वाईजेडएफ आर–१५–भी–३
यामाहाले नाडा अटो शोमा नयाँ संस्करणस्वरुप आर–१५–भी–३ ल्याउने भएको छ । कम्पनीले नाडामा शोकेसको लागि ल्याएको यो मोडल केही समय अगाडि भारतमा सार्वजनिक भएको थियो । यस मोटरसाइकलमा १५५ सीसी क्षमताको सिङ्गल सिलिन्डर लिक्विड कुल्ड इन्जिन लगाइएको छ । यसले १० हजार आरपीएममा १९ बीएचपी पावरकासाथै ८५ सय आरपीएममा १५ एनएम टर्क उत्पादन गर्छ ।
योपनि पढ्नुस्: यामाहा जाब्रा–१५० लिक्विडकुल्ड इन्जिनमा आउने
११ लिटर फ्यूल क्षमता रहेको ट्याङ्की दिइएको बाइकमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ । भारतीय बजारमा एक लाख ३० हजार मूल्य रहेको यो मोडलको नेपाली मूल्य भने निर्धारण गरिएको छैन । यो मोटरसाइकलको तौल १३७ किलोग्राम रहेको छ भने टपस्पीड क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
आर–१५–भी–३को फ्रन्ट डिस्कमा २५० एमएमको डिस्क ब्रेक र रियरमा २४० एमएमको सिङ्गल डिस्क ब्रेक दिइएको छ । यसमा रहेको कि–फिचर्सअन्तर्गत मोटरसाइकलमा एसिस्ट स्लिपर क्लच, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी चार्जिङ अप्सन, सुपरवायर टायर आदि रहेका छन् ।

जेडआर स्ट्रीट र्याली
त्यस्तै, यामाहाले अटो शोमा आफ्नो चर्चित मोडल सीवाईजी न्यूएस रे–जेडको नयाँ एडिसन ‘स्ट्रीट र्याली’ राख्ने तयारी गरेको छ । यो मोडलपनि केही समय अगाडि भारतमा सार्वजनिक भएको थियो । कम्पनीले यसको पनि मूल्य निर्धारण भयनसकेको जनाएको छ ।
यो स्कुटरमा अपडेटेड फिचर दिइएको छ । रेजेड–आर स्ट्रीट र्याली नयाँ डिजाइनमा आधारित मोडल हो । यसको स्वरुप यामाहाको एमटी–०९ जस्तै रहेको कम्पनीले जनाएको छ । ‘स्ट्रीट र्याली’मा स्टार्टअप तथा स्पोर्टी मिररको विशेषता दिइएको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टरसमेत लगाइएको छ ।
स्ट्यान्डर्ड मोडलजस्तै ११३ सीसीको एयरकुल्ड ब्लू–कोर इञ्जिन दिइएको यसले ७.१ बीएचपी पावरकासाथै ८.१ न्यूटन टर्क उत्पादन गर्छ । यसमा इञ्जिनसँगै रोलर आर्म दिइएको छ, जसले कम स्पीडमा स्कुटर चलाउँदा पनि बढी पावर उत्पादन गर्न सक्छ । अत्याधुनिक विशेषतासहित सार्वजनिक भएको यो स्कुटर दुई कलर अप्सनमा उपलब्ध हुनेछ ।

साथै, कम्पनीले आफ्नो स्टाइलिस स्कुटर ‘फेसिनो’लाई समेत अटो शोमा विशेषरुपमा प्रर्दशनी गर्ने योजना बनाएको छ । फेसिनोमा अहिलेसम्मका स्कुटरहरूमध्येकै उत्कृष्ट माइलेज रहेको कम्पनीले दाबी गरेको छ । फेसिनोे स्कुटर यामाहाको ‘ब्लू–कोर’ प्रविधिमा आधारित रहेको छ । यसको माइलेज प्रतिलिटर ६६ किलोमिटर छ । साथै, विशेष क्षमताको इञ्जिनमा निकल स्पार्क प्लग र बीए–२४ कार्बरेटर प्रयोग भएको छ, जसले स्कुटरको गतिलाई उत्कृष्ट बनाउन सहयोग गर्छ । यसमा उपलब्ध ११३ सीसी इञ्जिन क्षमताको इञ्जिनले ७५ सय आरपीएममा सात बीएचपी पावरकासाथै पाँच हजार आरपीएममा ८.१ एनएमटर्क उत्पादन गर्छ । फेसिनोको मूल्य एक लाख ८३ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, कम्पनीले २४९ सीसी सेग्मेन्टअन्तर्गत यामाहा एमटी–२५ लाई शोकेस गर्ने भएको छ । यसमा लगाइएको लिक्विड कुल्ड फोरस्ट्रोक डीओएचसी चार भल्ब इञ्जिनले १२००० आपीएममा ३५.५ बीएचपी पावर उत्पादन गर्नुकासाथै १०००० आरपीएममा २२.६ एनएम टर्क उत्पादन गर्छ । यसमा दुईवटा सिलिन्डर उपलब्ध छ भने ६ स्पीड गियरबक्स लगाइएको छ । यसको टपस्पीड क्षमता १७० किलोमिटर प्रतिघन्टा रहेको छ ।


