सामाखुसीमा यामाहाको अत्याधुनिक शोरुम संचालनमा

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ । काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप सुरु गरेको जनाएको छ । 

दुईतले नयाँ सोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले गरेका थिए । यहाँबाट ग्राहकले विश्वस्तरीय प्रविधि जडित यामाहाका मोटरसाइकलको सेल्स, सर्भिस, एक्सचेन्ज र फाइनान्सको सुविधा पाउने कम्पनीले जनाएको छ । 

कार्यक्रममा बाइकर ल्याब्स्का संस्थापक दिपक सिंजालीले युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु आफ्नो लागि गर्वको कुरा भएको बताए । उहाँले दुईतले यो सोरुमबाट ग्राहकले राम्रो सपिङ एक्सपिरियन्स गर्ने दाबी गरे । 

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । 

यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो । जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढेको छ । 

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।


Back_to_top