यामाहा रे-जेडआर माथि भारी पर्ला ‘डिओ-१२५’

काठमाडौं । स्पोर्टी स्कुटर सेग्मेन्टमा होन्डाले नयाँ प्रतिस्पर्धी बजारमा उतारेको छ । टीभीएस एनटर्क, सुजुकी एभिनिस, यामाहा फसिनो र रे–जेडआर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेगरी होन्डा डिओ-१२५ बजारमा आएको हो ।

नेपालमा सबैभन्दा धेरै रुचाइएको स्कुटर होन्डा डिओ यसअघि १०९ सीसी इन्जिनमा उपलब्ध थियो । स्कुटर भनेकै होन्डा डिओको पहिचान निर्माण गरेको यसले होन्डाको बजार हिस्सा जोगाउन निकै ठूलो भूमिका खेल्दै आएको थियो ।

अब कम्पनीले यसको इन्जिन मात्र नभएर लुक्ससमेत परिवर्त गरेर १२५ सीसी सेग्मेन्टमा उतारेको छ । होन्डा डिओ पुरानो मोडलको तुलनामा मस्कुलर र पावरफुल भएर आएको हो ।

नेपालमा पछिल्लो ३ वर्ष १२५ सीसी सेग्मन्टको बजार फस्टाउँदो छ । यसअघि पनि होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ग्राजिया यही सेग्मेन्टमा बिक्री गर्दै आएको छ ।

होन्डा ग्राजिया अहिले सर्वाधिक धेरै विक्री हुने १२५ सीसी स्कुटर मध्येको एक स्कुटर हो । त्यसमा डिओसमेत थप भएपछि स्पोर्टी स्कुटर सेग्मेन्टमा होन्डा थप बलियो बनेको छ ।

उता डिओ १२५ को सिधा प्रतिस्पर्धी यामाहा रे-जेडआर १२५ पनि नेपालमा सफल मोटरसाइकल हो । राम्रो माइलेज, उत्कृष्ट डिजाइन र यामाहा ब्राण्ड नेमका कारण रे-जेडआरले सफलता पाएको हो । यस्तोमा होन्डा र यामाहा जस्ता दुई जापानी ब्राण्डले उत्पादन गरेको डिओ १२५ र रे-जेडआर १२५ बीच के कति भिन्नता छन् भन्ने हामीले यहाँ चर्चा गरेका छौं ।

डिजाइन

मस्कुलर तथा एभ्रेशिभ फ्रन्ट लुक भएका यी दुई स्कुटर हेर्दा दुबै आकर्षक देखिन्छन् । होन्डा डिओले फ्रन्ट एप्रोनमा नै टर्न इन्डिकेटर दिएको छ भने यामाहाले बाइक इस्पायरर्ड इन्डिकेटर दिएको छ ।

झट्ट हेर्दा नै मानिसलाई आकर्षित गर्ने यी दुबै मोडल आफ्नो आफ्नो ब्राण्डको नेपालमा सफल मोडल हुन् । यसको बडी डिजाइनले धेरैलाई लोभ्याउँछ ।

इन्जिन

इन्जिनको कुरा गर्दा होन्डा डिओ-१२५ र यामाहा रे-जेडआर १२५ मा एउटै क्षमता रहेको छ । पावरमा भने थोरै डिओ अगाडि देखिन्छ । डिओ १२५ मा रहेको १२३.९ सीसी इन्जिनले ८.२८ पीएस पावर र १०.४ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै, यामाहा रे-जेडआरमा रहेको १२५ सीसी इन्जिनले ८.२ पीएस पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै स्कुटर बेल्ट ड्राइभ सिस्टम पाउन सकिन्छ ।

ब्रेकिङ/ह्वील

होन्डा र यामाहा दुबै कम्पनीले डिओ र रे-जेडआरलाई डिस्क र ड्रम ब्रेक अप्सनमा उपलब्ध गराएको छ । होन्डा डिओ-१२५ मा कम्वाइन ब्रेकिङ सिस्टम रहेको छ । यी दुबै स्कुटरमा बराबर साइजको ट्युवलेस टायर र अलोय ह्वील पाउन सहिन्छ ।

इन्धन/माइलेज

होन्डा डिओ-१२५ मा ५.३ लिटरको इन्धन ट्याङ्क छ । यामाहा रे-जेडआर १२५ मा भने ५.२ लिटरको इन्धन ट्याङक पाउन सकिन्छ । माइलेजको कुरा गर्दा होन्डाले ४८ किलोमिटर दावी गर्छ भने, यामाहाले ५८ किलोमिटर प्रतिलिटर माइलेज दावी गर्दै आएको छ ।

मूल्य

धेरै जसो समान फिचर भएको यो स्कुटरको मूल्य समेत समान रहेको छ । होन्डा डिओ-१२५ को वेस भेरियन्ट र यामाहा रे-जेडआर १२५ स्ट्रीट र्यालीको मूल्य समान २ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top