सस्तो इलेक्ट्रीक मोटरसाइकल ल्याउँदै यात्री, कति पर्ला मूल्य ?

काठमाडौं । नेपाली दुईपाँग्रे सवारी निर्माता कम्पनी यात्री इनर्जीले सस्तो इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले पी १ कै नयाँ भर्सनको रूपमा सस्तो मोडल ल्याउने तयारी थालेको हो ।

कम्पनीले सामाजिक संजालमार्फत यात्री पी १ को जेनेरेशन २ ल्याउने घोषणा गरेको हो ।

यात्री पी १ को तुलनामा केही मूल्य कम हुनेगरी जेनेरेशन २ ल्याउने तयारी भएको कम्पनी स्रोतले बताएको छ । मोटर पावर, ह्वील तथा डिजाइनमा परिमार्जन हुने भएका कारण यो मोटरसाइकलको मूल्य घट्ने कम्पनीको भनाई छ ।

कम्पनीले पी १को जेनेरेशन २ ल्याउने औपचारिक मिति घोषणा नगरे पनि सन् २०२४ को अन्त्यसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ ।

हाल नेपाली बजारमा बिक्री भएको यात्री पी १ टप भेरियन्टको मूल्य ५ लाख ६५ हजार रुपैयाँ रहेको छ । यसमा भएको केही फिचरहरू हटाउँदा यसको मूल्यमा १ लाख हाराहारीमा कम हुन सक्ने अनुमान सकिन्छ ।

यात्री पी १ मा १४ किलोवाट क्षमातको मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यो मोटरसाइकल एकपटक फुलचार्ज गरेर ११० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।

यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यो मोटरसाइकलमा दिइएको ब्याट्रीलाई फास्ट चार्जरमार्फत चार्जगर्दा १ घण्टा र रेगुलर चार्जरबाट चार्ज गर्दा ६ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले पूर्ण रूपमा एलईडी लाइटको प्रयोग गरेको छ । यसको फ्रन्टमा यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । यसको दुवै ह्वीलमा डिस्क ब्रेक र ट्युबलेस टायर रहेको छ ।

यात्री पी-१ मा १० कलर अप्सनमा रहेको छ । ग्राहकले बडी प्यान, सिट र सस्पेन्सनमा आफ्नो इच्छा अनुसारको कलर छनोट गर्ने सुविधा पाउने छन् भने फिचर समेत थप गर्ने सुविधा उपलब्ध छ ।


Back_to_top