नेपालका लागि हाइब्रिड गाडी यसकारण उत्तम विकल्प

काठमाडौं । सामान्य भाषामा भन्नुपर्दा हाइब्रिड गाडी भनेको एकभन्दा बढी इनर्जी स्रोतको संयोजन हो । जसले गाडी गुड्न मद्दत गर्छ ।

प्रवेश पौडेल

अहिले प्रयोगमा रहेका अधिकांश सवारी साधनहरूमा पेट्रोल/डिजेल इन्जिन वा विद्युतीय मोटरबाट चल्छन् । तर, हाइब्रिडमा यी पेट्रोल, डिजेल र विद्युतीय मोटर दुवैको संयोजन गरिएको हुन्छ ।

हाइब्रिड टेक्नोलोजीमा पेट्रोल/डिजेल इन्जिनसँग कम्तीमा एउटा विद्युतीय मोटर हुने गर्दछ। यसमा रहेकाे प्रणालीले रिजेनेरेटिभ ब्रेकिङ मार्फत ऊर्जा पुनः प्राप्त गर्दछ । रिजेनेरेटिभ ब्रेकिङ भनेको गाडी गुडिरहेको बेलामा उत्पन्न हुने काइनेटिक इनर्जी लाई ब्याट्रीमा स्टोर गर्नु हो । जसको सहायताले पछि गाडी चलाउन विद्युतीय मोटर संचालन गर्छ ।

हाइब्रिड सिस्टममा कम्तीमा दुई प्रकारको इन्जिन हुन्छ । जस मध्ये कहिलेकाहीँ इलेक्ट्रीक मोटरले मात्र गाडि चल्छ भने कहिले पेट्रोल इन्जिनले मात्र गाडी गुड्छ । कुनै समय चाहिँ दुवै इन्जिनले सँगै काम गर्छन् ।

सवारी साधनमा ६ प्रकारको हाइब्रिड टेक्नोलोजी प्रयोग गरिएको हुन्छ । १. सिरीज हाइब्रिड २. प्यारालल हाइब्रिड ३. प्लगइन हाइब्रिड ४. सिरीज प्यारालल हाइब्रिड ५. माइल्ड हाइब्रिड ६. माइक्रो हाइब्रिड ।

हाइब्रिड गाडीका फाइदाहरू

१. इन्धन खपत कम, राम्रो माइलेज : पेट्रोलबाट चल्ने कारको तुलनामा हाइब्रिड कारको सबैभन्दा फाइदा भनेको यसले इन्धनको बचत गराउँछ र कम कार्बन उत्सर्जन गर्छ । यसले सडकको अवस्था अनुसार अनुसार धेरै समय इलेक्ट्रीक मोटरले मात्र चलाउने सक्दो प्रयास गर्छ । ब्याट्री एकदमै लो भएमा वा बाटो अनुसार बढी पावर चाहिएमा मात्र पेट्रोल इन्जिनमा चल्छ । हाइब्रिड सवारीसाधनहरूकाे ताैल तुलनात्मक रूपमा कम हुन्छ जसलाई चलाउन कम ऊर्जा भए पुग्छ ।

२. वातावरण मैत्री : हाइब्रिड सवारीसाधन वातावरणमैत्री हुन्छन् । यिनले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सहयोग पुर्याउँछन् । इन्धनको खपत घटाई क्लिन इजर्नीको खपत बढाउँछ । पछिल्लो समय विश्वभर क्लिन इनर्जीको प्रयोग बढाउने र प्रदूषण नियन्त्रण घटाउने आवाज उठिरहेको बेला यो उत्तम विकल्प हो । हाइब्रिड सवारी चलाउन कम इन्धन भए पुग्छ । जसले फोसिल फ्यूल र कार्बन उत्सर्जन कम गराउँछ ।

ब्याट्री र इन्टरनल कम्बस्चन इन्जिन दुवैमा चल्ने हाइब्रिड गाडीहरू कार्बन उत्सर्जन घटाउने जस्ता समस्यालाई सम्बोधन गर्ने एकमात्र अन्तिम उपाय हो ।

३. सेल्फ चार्जिङ : धेरै प्रकारको हाइब्रिड चार्ज गर्न आवश्यक छैन। यसलाई रिजेनेरेटिभ ब्रेकिङ मार्फत चार्ज गरिन्छ। प्लगइन हाइब्रिडका लागि गाडीलाई १०० प्रतिशत चार्जको लागि १२ देखि १५ घण्टासम्म चार्ज गर्नुपर्छ ।

४. आर्थिक भार कम : हाइब्रिड सवारी साधन प्रयोग गर्दा खर्च समेत घट्छ । फोसिल फ्युलबाट चल्ने गाडीको तुलनामा यो निकै किफायती हुन्छ । पेट्रोलमा गर्नुपर्ने ठूलो खर्च यसले जोगाउँछ । साथै, कम्बस्चन गाडीको तुलनामा मर्मतका लागि कम पाटपूर्जा प्रयोग हुने र मर्मत खर्च समेत कम हुन्छ ।

५. हाइब्रिड गाडी ज्यादा इफिसियन्सी र प्रभावकारी हुन्छ : ट्राफिक जाम वा अन्य समयमा गाडी रोक्दा इन्जिन स्वतः बन्द हुन्छ । यस्तै, यसको इन्जिनबाट कुनै आवाज र कम्पन आउँदैन । यो सहज र छिटो समेत छ । मात्र ८ सेकेन्डमै ८० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ ।

हाइब्रिड भेहिकलमा परिवर्तन र चुनौती

विश्व विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको छ । कम्बस्चन टेक्नोलोजीको तुलनामा ईभी टेक्नलोजी विकासकै चरणमा छ । त्यहाँ अझै पनि धेरै अनिश्चितताहरू छन् । सूचना प्रविधिको विकासले यसलाई उत्कृष्ट बनाउनुको साथै चुनौतीपूर्ण समेत बनाएको छ । संसारभर ईभीमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको चुनौती छ ।

यस्तै, चार्जिङ स्टेसनको अभाव, भरपर्दो बिजुली आपूर्ति नहुनु, ईभी एसेप्टेन्स कम हुनु लगायत चुनौती रहेका छन् । अटोमोबाइल कम्पनीहरू बीचको बढ्दो प्रतिस्पर्धाले गुणस्तर खस्किने चिन्ता छ ।

नेपालको सन्दर्भमा ईभी सम्बन्धी कानुन र सरकारको नीति अस्थिर छ । सरकार प्रविधिभन्दा निकै पछाडि छ । समय सापेक्ष कानुन, नीति निर्माण र ईभीको प्रयोग बढाउन इको स्ष्टिम निर्माण गर्नु जरुरी छ ।

लेखक टोयोटा नेपालका टेक्नीकल मेनेजर हुन् ।

 


Back_to_top