उपत्यकामा सडक होइन, गाडीको स्पीड बढाऔं

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा कतिको स्पीडमा गाडी गुडाउन पाइन्छ भन्यो भने लाजमर्दो उत्तर दिनुपर्छ । अधिकतम ५० को स्पीड, त्योभन्दा बढी भए सिधै ट्राफिक ‘फाइन’ । अनि यही अधिकतम स्पीडले उपत्यकाको जाम हटाउन सकिन्छ त ? भन्ने प्रश्न धेरै मानिसको मनमा खेल्न थालेको छ ।

केही मानिस उपत्यकाको सडक विस्तार नगर्ने हो भने अब सवारीसाधन थेग्न सक्दैन भन्छन् । केहीको विचारमा फ्लाइओभर र वैैकल्पिक सडक बनाएर जाम घटाउनु पर्छ भन्ने छ । फ्लाइओभर, अन्डरपास र वैकल्पिक सडक हाम्रो आवश्यकता हो । तर, अहिले उपत्यकाका मुख्य सडक छेउमा बस्ने नागरिकको घर भत्काएर सडक विस्तार गर्ने विषय सोच्न सकिँदैन ।

विश्वभर शहरको सडकमा स्पीड लिमिट तोकिएको हुन्छ । भारतको राजधानी दिल्ली विश्वकै जाम लाग्ने शहर मध्ये एक मानिन्छ । दिल्ली नगर भित्र रहेका हाइवेमा ७० र अन्य सडकमा ५० को स्पीड लिमिट तोकिएको छ । भारतकै औद्योगिक र फिल्मी नगरी मानिने मुम्बईमा शहरमा पनि ४० देखि ७० को स्पीड लिमिट तोकिएको छ ।

अब अर्को छिमेकी देश चीनको राजधानी बेइजिङको कुरा गरौं । यहाँका सडकलाई दुई खण्डमा बाँडिएको छ । मुख्य वेमा गाडीको स्पीड ७० देखि १२० किलोमिटरसम्म तोकिएको छ । यसले त्यहाँ निर्माण भएका संरचना कति स्तरीय छन् भन्ने देखाउँछ ।

चीनकै अर्को शहर सांघाईमा ७० देखि ८० किलोमिटरसम्मको स्पीड लिमिट तोकिएको छ । त्यहाँको हाइवेमा १२० किलोमिटरसम्मको स्पीड तोकिएको छ । यस्तोमा हाम्रा दुई छिमेकी देशले सहरी क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि कसरी काम गरेका छन् भन्ने हामीले सिक्ने कोसिस नै गरेका छैनौं भन्ने देखाउँछ ।

हाम्रा देशका नेता र नीति निर्माताको ‘रासोबास’ सधैँ हुने दुई छिमेकी देशमा हुने गर्छ । यी दुई देश विश्वका दुई महाशक्ति बनिसकेका छन् । उनीहरूको अर्थतन्त्रमा सडक र सवारीको ठूलो हिस्सेदारी रहेको छ । हामीले भने यसबाट पाठ सिक्न सकेका छैनौं ।

सवारीसाधनको स्पीड बढाऔं

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो समस्या गाडी स्पीड कम हुनु नै हो । यहाँ ट्राफिक लाइटमा बसेर बाटो खुल्दा पनि गाडीको स्पीड १० देखि १५ किलोमिटर प्रतिघण्टा पनि हुन सक्दैन ।

यस्तो किन भइरहेको छ भन्ने विषयमा कुनै पनि सरोकारवाला निकायले चासो राखेको पाइँदैन । सडक नियमको त के कुरा गर्नु । अहिले पनि ट्राफिक नियम तोडेर आफू भाग्न सकेको खण्डमा विजेता ठान्ने चालकहरू छन् ।

सडक छेउमा रोकेर बस्ने, यात्रु कुर्ने र यात्रु ओराल्ने साधन जाम लगाउन सक्षम छन् । चालकहरूको अनुशासनकै कारण हाम्रा सडक व्यस्त बनेका छन् । त्यसैले ट्राफिक अनुशासन कायम गर्न गल्ती गर्नेलाई मोटो रकम जरिवाना लगाउनु पर्छ ।

ट्राफिक लाइट व्यस्त समयमा नै बल्दैन । यस्ता लाइटहरू ठीक बनाउने, आवश्यक स्थानमा लाइट थप्ने र हरियो बत्ती बल्नासाथ गाडीको स्पीड कम्तीमा प्रतिघण्टा ४० किलोमिटर पुग्नेगरी विकास गर्नुपर्छ ।

अहिले उपत्यकामा भएका सडकहरू निकै ठूला र फराकिला छन् । नभएको नियम पालना र पूर्वाधारको निर्माणमा कमजोरी हो । शासकहरूमा इच्छाशक्ति हुने हो भने सहजै उपत्यकाको जाम हटाउन सकिन्छ ।


Back_to_top