नेपालमै बनेपछि गाडी सस्तो हुन्छ, लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौं । नेपालमै गाडी एसेम्बल भएसँगै मूल्य कम हुने र यही थप रोजगारी सृजना हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताए । आज हुन्डाईले नवलपरासीमा बनाएको एसेम्बली प्लान्टको उद्घाटन गर्दै औद्योगिक वातावरण बनाउन र लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाउन सरकार र निजी क्षेत्र लागि परेको बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने उनको भनाई थियो ।

लक्ष्मी मोटर कर्पोरेसनको शुक्रबार नवलपरासीमा ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युतको खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको दावी थियो ।

प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए ।

हुन्डाईको पहिलो एसम्बली प्लान्ट नवलपरासीको रामग्राममा रहेको छ । उक्त प्लान्ट फुलफेजमा संचालन हुँदा वार्षिक ८ हजार यूनिट कार उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।


Back_to_top