खोइ ट्राफिक लाइट ? सरकारले निभायो !

कुनै समय ट्राफिक प्रहरी महाशाखाका प्रमुख र त्यसपछि नेपाल प्रहरीका प्रमुख बनेका पूर्व आइजीपी प्रकाश अर्याल भन्थे, ‘नेपाल विश्वमा नै सडक बत्ती नभएको देश हो ।’

उनले ट्राफिक प्रहरी प्रमुख हुँदा भनेको यो विषय अहिले पनि ज्यूँका त्यूँ छन् । सडकमा भद्रगोल छ । बिहान र बेलुका घरबाट सवारीसाधन लिएर काममा जाने मानिस एक घण्टा अतिरिक्त समय छुट्टाएर हिँड्नु पर्ने अवस्था छ । धेरैले भन्छन्, ‘यहाँ सवारीसाधन बढी भयो, सरकारभन्दा मानिस धेरै धनी भए । अनि निम्त्यो ट्राफिक जाम ।’

यो गाडी किनेर चढ्न नसक्ने अवस्थामा रहेका मानिसले भन्दा गाडी भएकाले धेरै बोल्ने शब्द हो । किनभने गाडी चढ्ने मानिस अरुले थप गाडी नचढोस् भन्ने मनोवृत्तिबाट ग्रसित छ । उसले चलाउने गाडी होस् वा मोटरसाइकल, उ अनुशासनमा रहेर चलाउँदैन अनि भन्छ, ‘गाडी धेरै भयो ।’

ट्राफिक नियमको धज्जी उडाउने काम स्वयम् ट्राफिक प्रहरीले धेरै गरेका छन् । ट्राफिक व्यवस्थापन म्यनुअल गर्नमा सबैभन्दा धेरै हात ट्राफिक प्रहरी कै छ । चलिरहेको बत्ती निभाएर बिहानको अफिस समय र बेलुकाको समयमा घण्टौं जाम सृजना गर्नमा सडकमा रहने ट्राफिक प्रहरी कम्ता दोषी छैनन् ।

गौशाला चोकमा हुने ट्राफिक जामबारे जिज्ञासा राख्दा ड्यूटीमा रहेको ट्राफिक प्रहरी भन्छन्, ‘रिङरोडमा लामो जाम लाग्छ । सहायक रोडबाट आउने गाडीको संख्या कम हुन्छ । ट्राफिक लाइटको भरमा पर्दा रिङरोड नै जाम हुन्छ । त्यसैले लाइट निभाएर म्यनुअल काम गर्छौं ।’

एक रोपा जमिनमा सिधा, बाङ्गो टिङ्गो, उकालो, ओरालो, बम्प, ट्राफिक लाइट र पछाडि ब्याक गर्न लगाएर दिइने लाइसेन्सले सडकमा अनुशासन कसरी कायम गर्न सक्छ ?

अब तपाईं नै बुझ्नुस् विश्वका ठूला जाम लाग्ने देशमा यसरी ट्राफिक प्रहरीले लाइट निभाएर हात हल्लाएर बस्छ कि ? सम्बन्धित ठाँउमा समय मिलाउन लगाउँछ ।

ट्राफिक प्रहरी मात्रै दोषी छैनन् यहाँ । चालक सबैभन्दा दोषी हुन् । उनीहरूले अहिलेसम्म सडक लाइट, सडक लेन र चालकको अनुशासन बुझेका छैनन् । कसैसँग बुझ्ने र बुझाउने फुर्सद पनि छैन । यसको जरो सवारीचालक अनुमती पत्र लिँदा देखि नै सुरू हुन्छ ।

सागर गजुरेल

एक रोपनी जमिनमा सिधा, बाङ्गो टिङ्गो, उकालो, ओरालो, बम्प, ट्राफिक लाइट र पछाडि ब्याक गर्न लगाएर दिइने लाइसेन्सले सडकमा अनुशासन कसरी कायम गर्न सक्छ । मैले यहाँ लेखे, सोच्ने काम तपाईंको ।

फेरि ट्राफिक लाइटमा नै फर्कौं । साँच्चै यो लाइट चाहिँ कसले बनाउँछ वा चलाउँछ भन्ने धेरैको चासो हुनु पर्छ । बनाउने सरकार, चलाउने पनि सरकार । सोझो उत्तर पनि त्यही हो ‘सरकार’ । सरकार अहिले ३ वटा छन् । संघ, प्रदेश र स्थानीय सरकार । ती सरकारका हरेक क्षेत्रमा काम गर्ने पनि सरकारकै हुने भए ।

स्थानीय सरकारले पनि ट्राफिक लाइट जडान गर्छ । प्रदेश सरकारले पनि गर्छ र संघबाट बजेट लिएर सडक विभागले पनि लाइट जडान गर्छ । यसको मतलब यहाँ हाम्रो नेताहरूले भने जस्तै तत् सरकारले ठेक्का दिने हुन् । बनाउने त टेक्निसियनले नै हो ।

यसको चलाउने जिम्मा ट्राफिक प्रहरीसँग हुन्छ । तर, कुनै पनि सरकारले राम्रो टेक्नोलोजीमा आधारित ट्राफिक लाइट ल्याएर जडान गर्दैनन् । अहिले भएका काम चलाउ लाइट ट्राफिक प्रहरीले नै बन्द गर्दिन्छ । अनि पूर्व आइजीपी अर्यालले भने जस्तै लाइटबिनाको देश त बन्ने नै भयो नि । त्यसैले त भनेको खोइ ट्राफिक लाइट ? सरकारले निभायो !


Back_to_top