काठमाडौं । नेपाली इलेक्ट्रीक ब्राण्ड यात्रीले आफ्नो पी-१ मोटसाइकलको यही मार्च महिनाको अन्तिमदेखि बुकिङ लिने भएको छ । कम्पनीको यात्री पी-१ यसअघि खुल्ला भएको बुकिङमा सोल्ड आउट भएका थियो ।
ग्राहकबाट उच्च माग भएको कारण केही समयका लागि बुकिङ बन्द गर्नु परेको र अब छिट्टै बुकिङ खुल्ला गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।
‘हामीले आफ्नो उत्पादन र बजार मागलाई मिलाउन केही समय बुकिङ रोकेका थियौ । अब यही मार्च महिनाबाट पुनः बुकिङ खोल्ने तयारी गरेका छौं’, कम्पनीका सीइओ वत्सल पाण्डेले भने ।
नयाँ बुकिङ गर्ने ग्राहकले यही २०२२ को सेकेन्ड क्वाटरमा डेलिभरी पाउने कम्पनीले जनाएको छ । यात्रीले आफ्नो पी-१ मोडललाई ४ लाख ९५ हजार सुरुवाती मूल्य राखेर विक्री गर्दै आएको छ । साथै, कलर लगायतका केही फिचर रकम थप गरेर खरिद गर्न सक्ने स्कीम कम्पनीले दिएको छ ।
यात्री पी-१मा ३ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिएको छ । यो मोटरसाइकल एकपटक फुल चार्ज गरेर ११० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।
टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको यो मोटरसाइकलमा दिइएको व्याट्रीलाई फास्ट चार्जर मार्फत चार्जगर्दा १ घन्टा र रेगुलर चार्जरबाट चार्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
यसमा कम्पनीले पूर्ण रुपमा एलइडी लाइटको प्रयोग गरेको छ भने, यसको फ्रन्टमा यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक र ट्युवलेस टायर रहेको छ ।


