नयाँ फिचर थपेर किन्न पाइने नेपाली मोटरसाइकल, तीन हप्ता भित्रै विक्री सुरु हुने

काठमाडौं । हाम्रो दैनिकीमा प्रयोग हुने अधिकांश बस्तु अन्य मुलुकबाट आयात हुँदै आएको छ । त्यसमा पनि नेपालमा नै उत्पादन भएका मोटरसाइकल तथा गाडी चढ्ने सपना बोक्नु त्यति सहज थिएन । तर, अब यात्री इलेक्ट्रीकले आफ्नो पहिलो व्यवसायीक इलेक्ट्रीक मोटरसाइकल पी-१ को विक्री सुरु गर्ने भएसँगै ‘मेड इन नेपाल’ उत्पादन चढ्न पाइने भएको छ ।

नेपालमा नै डिजाइन र उत्पादन गरिएको इलेक्ट्रीक मोटरसाइकललाई कम्पनीले यात्रीले आफ्नो वेवसाइटमा लिस्टिङ गरेको छ ।

कम्पनीले स्पेशल एडिशन यात्री पी-० र रेगुलर मोडलमा पी-१ को कन्सेप्ट मोडल गत वर्ष नै सार्वजनिक गरेको थियो । कम्पनीले यसको प्रोडक्सन मोडलको विभिन्न समयमा टेष्ट ड्राइभ कार्यक्रम समेत आयोजना गर्दै आएको थियो ।

यात्रीले आफ्नो आधिकारिक वेवसाइट www.yatrimotorcycles.com मार्फत पी-१ को प्रि बुकिङ लिइरहेको जनाएको छ । यात्री पी १ ग्राहकले चाहाना अनुरुपको कलर र फिचर थप गर्न सक्ने सुविधा रहेको कम्पनीका सीईओ वत्सल पाण्डेले जानकारी दिए ।

यात्री पी-१ वेस भेरियन्टको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ भने ग्राहकले आफ्नो चाहाना अनुरुप फिचर थप गर्दा फिचर अनुसारको मूल्य वृद्धि हुनेछ ।

यसमा ग्राहकले बुस्ट प्याक थप गरेर लिँदा यसको मूल्य थप ११ हजार ८०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । बुस्ट प्याकको प्रयोगले मोटरसाइकलको ०-६० को स्पीड बेस भेरियन्टको तुलनामा राम्रो हुन्छ । यसको स्र्पोकेट ८० टी रहेको छ । वेस भेरियन्टमा ७२ टी स्र्पोकेट रहेको छ ।

त्यस्तै ‘स्टपी प्याक’ नामक फिचर थप गरेर लिँदा ग्राहकले १२ हजार रुपैयाँ थप तिनु पर्ने हुन्छ । यसमा ग्राहकले ३२० एमएमको क्यालिपर डिस्क ब्रेक पाउने छन् । वेस भेरियन्टमा भने २४० एमएमको डिस्क ब्रेक रहेको छ । स्टपी प्याकको ब्रेकिङ क्षमता उच्च रहेको छ ।

त्यसैगरी अर्को फिचरमा ‘डिजिटल स्र्टाटअप प्याक’ रहेको छ । यसको वेस भेरियन्टमा ग्राहकले रेगुलर क्लासीक कि पाउने छन् । यसको डिजिटल प्याकमा भने ग्राहकले कि–लेस स्र्टाट फिचर उपलब्ध हुनेछ । यसका लागि ग्राहकले थप १८ हजार ७०० रुपैयाँ तिनु पर्ने हुन्छ ।

ग्राहकले माथि उपलब्ध सबै फिचरसहितको यात्री पी १ खरिद गर्दा ५ लाख ३७ हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसका साथै ग्राहकले माथिका कुनै एक वा दुई फिचर थप गरेर पनि मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यात्री पी १ मा १० कलर अप्सनमा आउने छ । ग्राहकले बडी प्यान, सिट र सस्पेन्सनमा आफ्नो इच्छा अनुसारको कलर छनोट गर्ने सुविधा पाउने छन् ।

यात्रीले २०२२ जनवरीको दोस्रो हप्तादेखि मोटरसाइकल विक्री सुरु गर्ने तयारी गरेको छ भने, कम्पनीले काठमाडौंको वालुवाटारमा आफ्नो पहिलो शोरुम स्थापना गरेको छ ।


Back_to_top