काठमाडौं । नेपालमा पहिलो प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार विक्री सुरु हुने भएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी इम्पेक्सले ‘ओरा क्याट’ नेपालमा विक्री सुरु गर्ने तयारी गरेको हो ।
ग्रेटवाल मोटर्सले अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको ‘ओरा क्याट’ नेपालमा फरक नामबाट आउने कम्पनी स्रोतले जानकारी दिएको छ । सन् २०१८ मा पहिलोपटक बजार कन्सेप्ट सार्वजनिक भएको यो मोडल झट्ट हेर्दा फक्सवागेनको आइकोनिक मोडल विटल जस्तै देखिन्छ ।
यही डिसेम्बर महिनाबाट बेलायतमा विक्री सुरु भएको ओरा क्याटको मूल्य २५ हजार पाउन्ड तोकिएको छ । नेपाली बजारमा यसका दुई भेरियन्ट आउने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि यसको दुई भेरियन्ट नै उपलब्ध रहेको छ ।
कम्पनीले ओरा क्याटमा दुई व्याट्री अप्सन दिएको छ । यसको इन्ट्री भेरियन्टमा ४८ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री पाउन सकिन्छ भने, टप स्पेकमा ६३ किलोवाट आवरको व्याट्री रहेको छ ।

यसमा रहेको सानो व्याट्रीले एक पटकको फुल चार्जमा अधिकतम ३३६ किलोमिटर रेञ्ज प्रदान गर्छ भने ठूलो व्याट्री भएको गाडीले ४२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसमा १२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
दुबै मोडलमा ८० किलोवाट क्षमताको फस्ट डिसी चार्जर सपोर्ट गर्ने क्षमता रहेको छ । यसमा सिंगल फेज लाइनमा चार्ज गर्न ६.६ किलोबाट र थ्रि फेज लाइनमा स्टायडर्ड चार्जरको रुपमा ११ किलोवाट क्षमताको चार्जर प्रयोग गर्न सकिन्छ ।
ग्रेटवालले बनाएको प्रिमियम ह्याचव्याकको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम र उचाई १५९६ एमएम रहेको छ । यसमा २६५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
सबै लाइटहरु एलइडी प्रयोग भएको यो कारमा १८ इन्चको अलोय ह्वील, उत्कृष्ट इन्फोटेन्टमेन्ट सिस्टम, पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा जस्ता फिचर यसमा पाउन सकिन्छ ।
ओरा क्याटलाई भिजी इम्पेक्सले ४० देखि ४५ लाखको बीचमा मूल्य कायम गरेर विक्री सुरु गर्ने अपेक्षा गर्न सकिन्छ ।


