टुडिखेल आसपास बन्यो ८ वटा जेब्राक्रसिङ

काठमाडौं । टुडिखेल आसपासको क्षेत्रमा ८ वटा जेब्राक्रसिङ निर्माण भएका छन् । सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाले टुडिखेल वरिपरी जेब्राक्रसिङ तथा अन्य सडक लेन निर्माण गरिरहेको हो । 

पब्लिक कन्स्ट्रक्सनले ठेक्कका लिएको जेब्राक्रसिङ तथा लेन निर्माणको काम अर्को सातासम्म हस्तान्त्रण हुने कन्स्ट्रक्सनका योजना प्रमुख निर्मल केसीले जानकारी दिए । 

उनका अनुसार हालसम्म टुडिखेल वरीपरी ८ स्थानमा जेब्राक्रसिङ निर्माण भइसकेका छन् । भद्रकालीमा ३ वटा, गणेशमन्दीर नजिक ३ वटा, सुन्धारा अगाडि २ वटा जेब्राक्रसिङ निर्माण गरिएको हो । 

हाल कन्स्ट्रक्सनले पहेलो लाइन र सेन्टर लेन लगाउने काम गरिरहेको छ । उनले एकापट्टीको पहँेलो लाइन बनिसकेको बताए । 

‘अब सेन्टर लेन र एकापट्टीको पहेँलो लेनको काम बाँकी छ,’ केसीले मेरोअटोसँग भने । 

झण्डै साढे ९ लाख रुपैयाँमा टेन्डर लिएको सो कम्पनीले लेन निर्माण रातीको समयमा गर्दै आएको छ । 

टुडिखेल वरिपरी १६ सय स्वायर मिटर लेन निर्माण गर्न लागिएको हो । त्यसका लागि साढे २ सय बोरा पेन्ट आवश्यक पर्ने केसीले जानकारी दिए । 

सडक विभागले टुडिखेल वरिपरी जेब्राक्रसिङ निर्माणका लागि १९ लाख रुपैयाँ बजेट छुट्याएको थियो । उनले अब लेनको काम मात्र बाँकी भएकाले बस पार्क साइडमा लेन र जेब्राक्रसिङ बनाउन बाँकी रहेको बताए । 

बसपार्क साइडमा मेलम्चीका कारण केही समय काम गर्न नसकिएको उनले जानकारी दिए । 

‘सरासर काम भयो भने २÷३ दिनमै काम पुरा हुन्छ, सबै काम सकेर हस्तान्त्रण गर्न मात्र हप्तादिन लाग्ला,’ केसीले भने । 


Back_to_top