काठमाडौं । विद्युतीय सवारी साधन लिएर मुक्तिनाथ वा अपर मुस्ताङको यात्रा अब अनौठो रहेन । विशेषगरी हिउँदे सिजनमा मुस्ताङ यात्राको लागि ईभी निकै उपयोगी देखियो ।
अहिले बजारमा उपलब्ध रहेका क्रसओभर एसयूभीहरु मुक्तिनाथ जान्छ भन्दा धेरैले कठिन होला भन्ने सोच्छन् । तर, अहिले क्रसओभर ईभी मात्रै होइन साना फ्यामली ह्याचव्याक कार पनि सहजै मुक्तिनाथ पुगेका छन् ।
विद्युतीय सवारी साधन यहाँ पुग्यो, त्यहाँ पुग्यो भनेर सोसल मिडियामा आफ्नो अनुभव सुनाउने धेरै भेटिन्छन् । उनिहरुले गाडी लगेर गाडीमा थुप्रै क्षती पुर्याउने गरेका पनि छन् । तर, मुक्तिनाथ जान भने अब गाडी बिगार्नु पर्दैन । बाटो निकै राम्रो बनिसकेको छ ।
काठमाडौंबाट चैत ३१ गते बिहान ४.३५ बजे जीकर एक्समा चार जना बसेर हामीले यात्रा सुरु गरेका थियौं । चार जनाकै मिलाउँदा औषत तौल ७५ केजी आसपास थियो । लगेज पनि हुनेनै भयो । ठ्याक्कै भन्नु पर्दा ५ जनाको औषत तौल बराबरको भारी गाडीलाई थियो ।
गाडीमा ९६ प्रतिशत चार्ज थियो । हामीले सिधै पर्वत पुगेर गाडी चार्ज गर्ने र खाना खाने निधो गरेर काठमाडौंबाट हिडेका थियौं । बीचमा मलेखु बजारमा रोकेर चिया, खाजा खाएर हामी पोखरातर्फ लाग्यौं । पोखराको मुख्य सडक विस्तारकै क्रममा रहेकोले एयरपोर्टदेखि जिरो किलोसम्म जाममा परियो । झण्डै १२ बजे हामी पर्वतमा रहेको नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशन पुग्यौं ।

त्यहाँ गाडीलाई ९९ प्रतिशत चार्ज बनाएर हामी मुक्तिनाथ तर्फको यात्रामा निस्कियौं । बाग्लुङ तर्ने पुल छाडेर हामी सिधै बेनी हुँदै मुक्तिनाथ लाग्यौं । पर्वतबाट ४ घन्टा ३० मिनेटमा हामी मुक्तिनाथ पुगेका थियौं । अन्तिम गन्तब्यमा पुग्दा गाडीमा ४४ प्रतिशत चार्ज बाँकी थियो ।
धेरै विद्युतीय कार बाटोमा भेटिएनन् । एक दुई बीवाइडी एटो-३ बाटोमा भेटियो । अन्य ब्राण्डका ईभी खासै लगेको हामीले पाएनौं । बरु विद्युतीय माइक्रो बस भने टन्ने गएका थिए । पीकअप र स्कर्पियो त हुने नै भयो ।
गाडी चलाउँदाको अनुभव
अधिकांश स्थानमा बाटो बनिसकेको कारण रफ्तारमा कुनै सम्झौंता भएन । ६०/७० किलोमिटर प्रतिघन्टाको स्पीड सामान्य थियो । सबै मिलाउँदा करिब ५/६ किलोमिटर कच्ची बाटो बाँकी रहेछ । त्यसमा पनि अधिकांश स्थान कालोपत्रे गर्न लगभग तयार अवस्थामा देखियो ।
जीकर एक्समा रहेको २०० किलोवाटको मोटर साँचै पावरको लागि जादुयी लाग्छ । यसको टर्क क्षमता झनै रोचक छ । एकाध स्थानमा रहेका खराव बाटोमा पनि जीकर एक्स चलाउँदा सामान्य लाग्छ । हुन त हाम्रो यात्रामा तीन जना चालक थियौं । तर, काठमाडौंदेखि मुक्तिनाथसम्म म एक्लैले चलाएको थिए । मलाई गाडी चलाउँदा कुनै किसिमको ‘ब्याक पेन’ वा अफ्ठ्यारो महसुस भएन । त्यसैले भेलिपल्ट पोखरासम्म र अर्को दिन काठमाडौंसम्म नै मैले नै चलाए ।

गाडीको स्पीड, ब्रेकिङ र सस्पेन्स गज्जपको छ । केही अफरोडमा पर्दा पनि कुनै किसिमको ‘जर्क’ अनुभव हुँदैन । चार जना मात्रै भएको कारण पछाडि बस्नेले पनि आमरेष्टको प्रयोग गर्न पाए । उनिहरुसँग सोध्दा कुनै अफ्ठ्यारो विना नै यात्रा सम्भव भयो ।
बेलाबखत खराब बाटो आउँदा प्रयोग गरिएको ३६० डिग्री क्यामेरा, पैदल यात्रु वा गाडीको नजिक पुग्दा गर्ने वानिङ चालकको लागि सहयोगी नै हुन्छ । कतिपय अवस्थामा गाडीले आफैँ ब्रेक लगाउने भएको कारण चालक आत्तिन सक्छन् । तर, सुरुमा केही कठिन लागेपनि यो फिचर मलाइ सुरक्षाको हिसावले राम्रो लाग्यो ।
यामाहाको म्यूजिक सिस्टमले यात्रा रोमान्चक बनाउन सहयोग पुग्यो । समग्रमा जीकर एक्स एउटा प्याकेज क्रसओभर एसयूभी देखियो । जसलाई लिएर मुक्तिनाथ यात्रा गर्न कुनै कठिन भएन ।

