१२५ सीसीको पावरफुल मोटरसाइकल, डिजाइन पनि उत्कृष्ट

काठमाडौं । कम सीसीमा आकर्षक मोटरसाइकल बनाउने लहर चलेको छ । विश्वका चर्चित कम्पनीहरुले कम सीसीमा स्टाइलिस मोटरसाइकल बनाइरहेका छन् । यस्तोमा चिनीयाँ कम्पनी जोन्ट्सले १२५ सीसीमा दुई मोटरसाइकल सार्वजनिक गरेको हो ।

विशेषत यूरोपियन र एशियन बजारलाई ध्यानमा राख्दै कम्पनीले १२५ सीसी क्षमतामा ‘जेडटी १२५-यू र जेडटी १२५ जि-१’ मोडल सार्वजनिक गरेको जनाएको छ ।

विगत १८ वर्षदेखि मोटरसाइकल उत्पादनमा काम गर्दै आएको जोन्ट्सले यी दुई मोटरसाइकललाई यूरोपियन बजारमा सार्वजनिक गरेको छ । अब विस्तारै एशियाली बजारमा प्रवेश गर्ने योजना बनाएको बताइएको छ ।

जोन्टस्ले बनाएका मोटरसाइकल भविष्यमा हुन सक्ने डिजाइनबाट प्रेरित रहेको कम्पनीले दाबी गरेको छ । यी दुई मध्य जेडटी १२५-यू निकै यूनिक डिजाइनमा आएको छ । यसमा एलइडी हेडल्याम्प, यूएसडी फर्क, आल्मुनियम स्वीङआर्म जस्ता फिचर दिइएको छ ।

कम्पनीले ल्याएको जेडटी १२५ जि-१ स्क्र्याम्लर डिजाइनमा रहेको छ । यसमा भने कम्पनीले राउन्ड एलइडी हेडल्याम्प, बार इन्ड मिरर, ड्यूल प्रपोज टायर, इन्जिन गार्ड जस्ता फिचर दिएको छ ।

दुबै मोटरसाइकलमा समान इन्जिनको प्रयोग गरिएको छ । यसमा रहेको १२५ सीसी सिंगल सिलिण्डर इन्जिन सेग्मेन्टकै सर्वाधिक पावर भएको इन्जिन मध्येको हो । उक्त इन्जिनले अधिकतम १४.९ पीएस पावर र १३ एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

कम्पनीले यसको अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिएको छ । सुरक्षालाई विशेष महत्व दिएर तयार पारिएको यी मोटरसाइकलमा ड्यूल च्यानल एबीएस दिइएको छ । यी मोटरसाइकलको यूरोपमा मूल्य ३ हजार ४० यूरो कायम गरिएको छ ।


Back_to_top