सानो मोटरमा जेडएस ईभी र एटो ३ नेपाल आउने चर्चा

काठमाडौं । अहिले बजारमा विद्युतीय कारको चर्चा निकै धेरै हुने गरेको छ । ३/४ वर्ष अगाडिसम्म घरमा एउटा कार पहिल्यै भएका ग्राहकको सोचाई र रोजाईमा पर्ने विद्युतीय कार अहिले पहिलो गाडी किन्नेको रोजाईमा नै पर्न थालेको हो ।

विशेगरी महिन्द्रा, हुन्डाई, एमजी, बीवाइडी, किया जस्ता ब्राण्डले ईभीमा ग्राहकलाई लाग्न प्रेरित गरेका थिए । तर, यो बजारको नक्शानै परिवर्तन गर्नेगरी टाटा, नेटा जस्ता ब्राण्ड आएसँगै बजारमा निकै रोचक प्रतिस्पर्धा सुरु भएको छ ।

टाटाले अहिले ३० लाखदेखि ४४ लाख रुपैयाँसम्म मूल्य पर्ने ईभी विक्री गर्दै आएको छ । त्यसैगरी ३८ लाख मूल्यको नेटा भी क्रसओभर बजारमा आएसँगै यसको विक्री पनि बढिरहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा नै झण्डै १ हजार ८ सय यूनिट ईभी आयात भएसँगै ईभीको बजार कसरी बढिरहेको छ भन्ने एकिन गर्न अन्य धेरै विषयमा ध्यान दिनै पर्दैन । ईभी नेपाल ल्याएर विक्री गर्ने मामलामा सबैभन्दा अगाडि टाटा छ भने दोस्रो स्थानमा हुन्डाई रहेको छ ।

कुनै समय सबैभन्दा धेरै विक्री हुने एमजी जेडएस ईभी सरकारले चालु आर्थिक वर्षमा वृद्धि गरेको भन्सार र अन्तःशुल्क राजश्वको कारण आयात नै बन्द छ । त्यस्तै बीवाइडीको एटो–३ पनि राजश्वको कारण नै निकै कम संख्यामा विक्री हुँदै आएको छ । जेडएस ईभीमा ११५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको थियो भने एटो–३ मा १५० किलोवाट क्षमताको मोटर छ ।

विशेषगरी आयात रोकिएको झण्डै १० महिनापछि एमजी जेडएसको १०० किलोवाट भर्सन नेपाल आउने चर्चा सुरु भएको छ । आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले नेपाल आउन सक्ने जनाउ यसअघि नै दिए पनि मिति भने अहिलेसम्म एकिन गरेको छैन ।

त्यसैगरी एटो–३ पनि १०० किलोवाट क्षमताको मोटरमा आउने चर्चा चलिरहेको छ । बीवाइडीको आधिकारीक वितरकले यस विषयमा कुनै जानकारी नदिएपनि विस्तारै यसलाई बजारमा ल्याउने तयारी चलिरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

राइट ह्याण्ड ड्राइभ रहेको सिंगापुर र नेपालमा मोटरको पीकपावरलाई आधार मानेर कर निर्धारण हुँदै आएको कारण एमजी र बीवाइडीले १०० किलोवाट आवरको मोटरमा यी दुबै कार उत्पादन गर्न लागेको चर्चा चलिरहेको छ । तर, यी दुबै कार कहिलेसम्म बजारमा आउँछ भन्ने विषयमा भने कुनै एकिन जानकारी प्राप्त भएको छैन ।

यदि यी दुबै कार १०० किलोवाटको मोटरमा आउने हो भने यी कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट, ५ प्रतिशत सडक निर्माण दस्तुर मात्रै लाग्ने छ । जसको कारण मूल्य कम हुनेछ ।


Back_to_top