काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएको छ ।
नाडाले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा आफूले दिएको कुनै पनि सुझाव सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि जनाएको हो ।
कोरोना भाइरसबाट सृजित विषम परिस्थितिले धरासायी बनेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत कुनै राहतमूलक कार्यक्रम नल्याएको भन्दै नाडाले राष्ट्र बैंकले यस क्षेत्रलाई वेवास्ता गरेको जनाएको छ ।
मौद्रिक नीतिमा पुरानै अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई निरन्तरतत दिइएको छ । त्यसैगरी हालसम्म पनि कायम रहेको हायर पर्चेज कर्जाको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि निरन्तरता दिएकाले यस्तो व्यवस्थाले यस क्षेत्रको पुनरुत्थान हुन नसक्ने नाडाको भनाइ छ ।
राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरीत कर्जा प्रवाहको सीमा मार्फत सवारीसाधनमा नै अंकुश लगाउने राष्ट्र बैंकको गलत नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा वृद्धिगरी ९० प्रतिशत पुर्याउनु माग गर्दै नाडाले राष्ट्र बैंकलाई पुनर्विचारका लागि अनुरोध गरेको छ ।

