काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को जोखिम न्यूनीकरणका लागि सरकारले मङगलबारदेखि देशैभरी लकडाउन लागू गरेको छ । सरकारले घोषणा गरेको लक डाउन जारी नै रहे पनि त्यसको उल्लंघन गर्ने क्रम अझै घटेको छैन ।
अटेर गरी सवारी चलाउने बढे पछि सरकारले सुरक्षा संयन्त्र कडा पारी त्यस्ता सवारीलाई नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ ।यसै क्रममा बिहीबार बिहान उपत्यकाबाट मात्रै प्रहरीले १३७ सवारी साधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका अधिकांश चार पांग्रे सवारी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ८ बजेसम्ममा ११२ वटो चार पांग्रे सवारी र २५ ओटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । घरबाट अनावश्यक रुपमा निस्केका सर्वसाधारणलाई सम्झाइबुझाइ घरतर्फ नै फर्काइएको महाशाखाले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन लकडाउनको अवधि समाप्त भएपछि मात्रै फिर्ता गरिने बताइएको छ ।
हिजो मात्र अटेर गरेर लक डाउन उल्लघंन गर्ने १ हजार ६३ सवारी साधनहरु लाई नियन्त्रण गरीएको थियो । नियन्त्रणमा लिइएको मध्य ९९२ मोटरसाइकल रहेका छन् भने १३४ चारपांग्रे सवारी साधन रहेका छन् ।
महाशखाले अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चलाउन अनुरोध गरेको छ । साथै अन्य सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

