काठमाडौं । बेलायती प्रिमियम अटो कम्पनी जगुवार ल्याण्डरोभरको पहिलो इलेक्ट्रीक क्रसओभर आईपेस नेपाली बजारमा १० दिन भित्र आइपुग्ने भएको छ । यो कारलाई नेपाली बजारमा यूरोपियन प्रिमियम गाडीहरु बिक्री गर्दै आएको किसोर गियर्सले ल्याउन लागेको हो ।
विश्व बजारमा सन् २०१८ को मध्यबाट बिक्री थालेको आईपेशले पहिलो वर्षमै ६२ वटा अन्तर्राष्ट्रिय अवार्डहरु जितेको थियो । सन् २०१९ को मार्चमा आईपेसले युरोपियन कार अफ द एयरको अवार्ड समेत जितेको थियो ।
गत अप्रिलमा यो कारले वेस्ट डिजाईन र वेष्ट ग्रिन कार अवार्डका साथै ‘वल्र्ड कार अफ द एयर’को समेत उपाधि जितेको थियो ।
९० किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको यो क्रसओभर कारले एक पटकको फुल चार्जमा ४७० किलोमिटरसम्मको दूरी पार गर्न सक्नेछ । यसमा रहेको दूईवटा १५० किलोवाटको मोटरले ३९५ एचपी पावरको साथै ७०० एनएम टर्क उत्पादन गर्छ । अल ह्वील ड्राइभ अप्सनमा आउने यो कारले मात्र ४.८ सेकेन्डमा १०० किलोमिटरको गति भेट्टाउन सक्नेछ ।
इन्धनबाट चल्ने गाडीहरुमा भन्दा धेरै कम भन्सार तथा अन्तःशुल्क लाग्दै आएकाले अहिले इलेक्ट्रीक कार कम्बस्चन इन्जिन युक्त कारभन्दा सस्तो रहेको छ ।
‘इलेक्ट्रीक कारको संसारभर नै परिक्षण भइरहेको छ । हामीले पनि नेपालमा यसको परिक्षणको रुपमा ल्याएका हौ’ किशोर वादे श्रेष्ठले मेरोअटोसँग भने ।
उनका अनुसार आईपेशको नेपालमा करिब १ करोड ३० लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्म पर्नेछ । अहिले भने सुरुमा २ यूनिट गाडी ल्याउन लागेकाे कम्पनीले जनाएकाे छ ।
गत हप्ता मात्रै नेपाली बजारमा जर्मन विलासी कार कम्पनी अउडीले बनाएको इट्रोन इलेक्ट्रीक नेपाल आएको थियो ।


