काठमाडौं । अब नेपालगञ्जबाट सिधै लखनाऊसम्म बसमै जान सकिने भएको छ । सीमावर्ती भारतीय राज्य उत्तरप्रदेशको राजधानी लखनऊसम्म नेपालगन्जबाट नेपाल–भारत मैत्री बस सेवा सुरु भएको हो ।
सरकारबाट अनुमति पाएको नेपालगन्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार आज (भदौ २२) बाट बस सेवा सञ्चालन गरेको हो ।
उत्तरप्रदेश परिवहन निगमको एउटा र भेरी यातायात प्रालिको एउटा बस नेपालगन्जबाट लखनऊ र लखनऊबाट नेपालगन्ज आवत जावत गर्ने छन् ।
नेपालगञ्जको कारकादोदेखि गुड्ने बस बिहान ८ बजे छुट्ने छ भने लखनऊको केशरबगरदेखि छुट्ने गाडी राती ९ बजेर १५ मिनेटमा छुट्ने छ ।
भेरी यातायातले भारतको लखनऊ, नयाँदिल्ली र हरिद्वारका लागि मैत्री बस सेवा सञ्चालन गर्न सरकारबाट अनुमति पाएको छ ।
यसअघि सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लखनऊ जान ट्याक्सी, जीप वा सुमो चढेर जानु पर्ने थियो । हाल जीप वा ट्याक्सी चडेर लखनऊ जान वा नेपालगञ्ज आउनका लागि ५ हजार भारु भाडा लाग्ने गरेको स्थानिय बताउँछन् ।
लखनऊबाट फर्किदा रुपैडिहासम्म यातायातका साधन सहजरूपमा नपाउने र रुपैडिहाबाट फेरि अर्को सवारीसाधन चढेर नेपालगन्ज फर्कनुपर्ने बाध्यता थियो । बस सेवाले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई समेत सहज हुनेछ ।

