काठमाडौं । भदौ १७ गते काठमाडौं आइपुगेको एमजीको इलेक्ट्रीक एसयूभी ‘इजेडएस’ टेष्ट ड्राइभ गर्नेको संख्या बढ्दै गइरहेको छ । इजेडएस एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले नेपाली बजारमा ल्याएको हो ।
मेरोअटो टिमले पनि एमजीको इलेक्ट्रीक एसयूभी टेष्ट ड्राइभ गर्न नक्साल स्थित एमजी शोरुम गएका थियौं । उपत्यकामा भइरहेको लगातारको वर्षाको बीच हामीले उक्त एसयूभी केही किलोमिटर चलाएका थियौं ।
उपत्यकाको बाटो अनुसार यो गाडीको पावर जो कोहीलाई धेरै लाग्न सक्छ । इलेक्ट्रीक कारले इन्स्ट्यान्ट टर्क प्रदान गर्ने भएकाले यसले चालकले चाहे अनुसारको गति तत्काल लिन सक्ने छ ।

रेगुलर मोडलकै स्वरुपमा आएकाले यो गाडी इलेक्ट्रीक नै हो भनेर बाटोमा मानिसले पत्ता लगाउन सक्ने किसिमको छैन । एमजी जेडएसकै रेगुलर ग्रिलमा उपलब्ध यो गाडीमा भित्रको स्पेश बजारमा उपलब्ध अन्य इलेक्ट्रीक कारको तुलनामा केही धेरै रहेको छ ।

यस एसयूभीको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४४ एमएम रहेको छ । जसले गाडीको भित्री भाग निकै स्पेशियस देखिएको छ । यसमा २५८५ एमएमको ह्वील वेस दिइएको छ । ११० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको यो एसयूभीमा ४४.५ किलोवाटको ट्रेनरी लिथियम आयन व्याट्री दिइएको छ । उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि प्रदान गर्नेछ ।

कम्पनीले दाबी गरे अनुसार यसले एकपटकको फुलचार्जमा ४२८ किलोमिटर माइलेज दिने दाबी गरेको भएतापनि एनइडीसीले औषत रेञ्ज ३३५ किलोमिटर प्रदान गर्ने जनाएको छ ।
गाडीको समग्र पावर उत्कृष्ट रहेको छ । १४८ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्ने गाडीले ६.२ सेकेन्डमा १०० किलोमिटरको रफ्तार पकड्न सक्नेछ ।
आठ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड तथा ६ एयरव्याग र १७ इन्चको डवल टोन अलोय ह्वीलजस्ता फिचरले एसयूभीलाई प्रिमियम बनाएको छ । यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको छ ।

अझ कम्पनीले बिक्रीको लागि ल्याउने मोडलमा इलेक्ट्रीक पानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेवल सिट, लेदर सिटजस्ता फिचर समावेस हुने कम्पनीले जनाएको छ ।
‘गत १५ दिनमै ८० यूनिट गाडी हामीले बुकिङ्ग गरेका छौं, इलेक्ट्रीक गाडीमा ग्राहकको आर्कषण देखिएको छ’ कम्पनीका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भने ।

कम्पनीले १ लाख रुपैयाँ लिएर इएजेडएसको बुकिङ लिइरहेको छ । यसको मूल्य भने ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एमजीले इजेडएस जेडएसकै प्लेटफर्ममा बनाएको एसयूभी हो । एमजीले इजेडएसको प्रिमियर शो २०१८ को ग्वाङझाओ मोटर शोमा गरेको थियो ।

