काठमाडौं । हुन्डाईले नेपाली बजारमा ल्याएको पहिलो इलेक्ट्रीक कार आयोनिक अब नयाँ व्याट्री अप्सनको साथ २०१९ मोडलको रुपमा अन्तर्राष्ट्रिय बजारमा आएको छ । उक्त नयाँ आयोनिक नेभोम्बर अन्तिमसम्ममा नेपाली बजारमा आउने आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले जानकारी दिएको छ ।
नयाँ आयोनिकमा कम्पनीले व्यापक परिवर्तन गरेको छ । यसअघि प्रयोग गरिएको २८ किलोवाटको व्याट्री प्याकलाई ३३ प्रतिशतले बढाएर ३८.३ किलोवाटको प्रयोग गरेको छ ।
नयाँ व्याट्री प्याकसँगै यस कारले एक पटकको फुल चार्जमा २७४ किलोमिटर माइलेज दिने एनइडीसीले सर्टिफाई गरेको छ भने, डब्ल्यूएलटीपीको अनुसार उक्त कारले १९४ माइल अर्थात् ३१० किलोमिटर माईलेज दिने छ । जुन यसअघिको तुलनामा झण्डै १०० किलोमिटर बढी हो ।
यसमा दिइएको व्याट्रीलाई १०० किलोवाटको फास्ट चार्जरबाट चार्जगर्दा ८० प्रतिशत चार्जगर्न ५४ मिनेट मात्र लाग्ने छ भने ७ किलोवाटको चार्जरले घरमै चार्जगर्दा ८० प्रतिशत चार्ज गर्न ६ घन्टा ५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
पावरको मामलामा पनि नयाँ आयोनिक पुरानोभन्दा निकै पावरफुल रहेको छ । यसअघि ८८ किलोवाटको मोटर प्रयोग गरिएको यस कारको फेसलिफ्ट मोडलमा १०० किलोवाटको मोटर प्रयोग गरिएको छ । जसले ११९ बीएच पावर रहेको थियो भने नयाँ मोडलले १३४ बीएच पावर र २९५ एनएम टर्क प्रदान गर्नेछ ।
१६ इन्चको अलोय ह्वील रहेको यो कारमा रियर सस्पेन्सनमा समेत निकै सुधार गरिएको कम्पनीले जनाएको छ ।
यसमा दिइएको सबै लाइटहरु एलइडी प्रयोग गरिएको छ भने १०।२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले कारको ड्यास बोर्डलाई प्रिमियम देखाएको छ । नयाँ मोडलमा एयर भेन्टहरु पनि नयाँ ठाउँमा राखिएको छ ।
वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।
केही समय अगाडिसम्म बिक्री वितरण भइरहेको आयोनिकको मूल्य ५१ लाख ९६ हजार रूपैयाँ रहेको थियो । अब नोभेम्बर अन्त्यसम्ममा नयाँ आयोनिक नेपाली बजारमा आउने कम्पनी स्रोतले जानकारी दिएको छ । नयाँ व्याट्री अप्सनमा आउँदा करको मूल्य केही बढि पर्ने अनुमान लगाउन कठिन छैन ।

