काठमाडौं । करिब डेढ वर्ष अगाडि नेपाल भित्रीएको ब्रिटीश कम्पनी लेमोटोको डर्ट बाइक एलआरएफ २५० दुई भेरियन्टमा बिक्री भइरहेको छ । डर्ट बाइकको बजार बिस्तार भइरहेको अवस्थामा लेमोटोले नेपालमा बिक्री सुरु गरेको यो मोडल, युवापुस्ताको रोजाइमा पर्ने संभावना भएको ब्राण्ड हो ।
आकर्षक लुक्स, पावरट्रेन तथा डिजाइन यसका सवल पक्ष हुन् । यो बाइक एन्ड्युरो र मोटार्ड गरि दुई भेरियन्टमा बिक्री भइरहेको छ । यी दुबै भेरियन्टको मूल्य ६ लाख ५ हजार रुपैयाँ तोकिएको छ । एडभेन्चर लुक्सको यो बाइक विशेषता अफरोड ड्राइभिङकै लागि रोजने गरिन्छ ।
कम्पनीले दुबै मोडलमा एलइडी हेडलाइटसँगै टेलल्याम्प, डिजिटल स्पिडोमिटर, आल्मुनियम आउट फिट कि स्टान्डको फिचर दिएको छ । प्रतिलिटर २२ किलोमिटर माइलेज दिने यी बाइकमा ७ लिटर इन्धन क्षमताको ट्यांकी लगाइएको छ । अफरोड राइडीङलाई सहज बनाउने गरि दुबै बाइकमा उच्च ग्राउन्ड क्लियरेन्स र ह्वीलवेश दिइएको छ ।

एन्ड्युरोमा ९५० एमएमको सिट लगाइएको छ भने, मोटार्डको सिट हाइट केही कम रहेको छ । एन्ड्युरोको फ्रन्ट साइडमा ८० एमएम र रियरमा ११० एमएमको डिस्क ब्रेक लगाइएको छ । यस्तै मोटार्डको फ्रन्ट तथा रियरमा २४० एमएमको डिस्क ब्रेक दिइएको छ । दुबैमा समान १७ इन्चको टायर लगाइएको छ ।
दुबै बाइकमा समान सिंगल सिलिन्डर फोर स्ट्रोक २४९ सीसी वाटर कुल्ड एसओएचसी फोर भल्भ इन्जिन दिइएको छ । यसले, ९५०० आरपीएममा ३४ बीएच पावर र ७ हजार आरपीएममा २३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियरबक्स जोडिएको छ ।
११२ किलोग्राम रहेको यो बाइकको टपस्पीड क्षमता प्रतिघन्टा १४० किलोमिटर रहेको छ ।
एलइडी इन्डीकेटर, ह्यान्डल बार क्लाम्प्स, सक याब्जर्बर, सिट, अन्डरसिट एक्जस्ट लगायतका विशेषताका कारण चर्चामा आएको यो बाइक हाल, ब्ल्यु, रेड, ओरेन्ज एन्ड ह्वाइट कलरमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

