अमेरिकी कम्पनी पर्शनल भेहिकलले लामो समयसम्म आकाशमा उड्न सक्ने कार उत्पादन गरेको छ । कम्पनीले उत्पादन गरेको कार १२ हजार ५ सय फिटको उचाईमा उड्न सक्ने कम्पनीले दाबी गरेको छ ।
यो कार यसअघि धेरै पटक परिक्षण गरिएको थियो । विभिन्न चरणको परिक्षण पास भएको यस कारको नाम ‘पाल–भी’ हो । केही दिनअघि अमेरिकाको पारामाउन्ट मिआमी वर्ल्ड सेन्टरमा प्रदर्शनी गरिएको यो कार अहिलेसम्म ७० यूनिट बुकिङ भइसकेको कम्पनीले दाबी गरेको छ । करिब ७ करोड ५० लाख नेपाली रुपैयाँ मूल्य रहेको यो कार सन् २०२१ मा डेलिभरी दिने कम्पनीले जनाएको छ ।
अधिकतम ३२२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्ने यो कार पेट्रोलबाट चल्ने छ । सडकमा भने यसको अधिकतम रफ्तार १६१ किलोमिटर प्रतिघण्टा रहने जनाइएको छ ।

दुई जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारमा चार सिलिण्डर युक्त इन्जिन दिइएको छ । जसले २३० हर्स पावर प्रदान गर्छ । सडकमा गुड्दा तीन सिट क्षमताको हुने यो कार उडान भर्न तयार हुँदा दुई सिटमा झर्ने छ । एक बटमको सहायताले यसलाई गुडाउने र उडाउने मोडमा बदल्न सकिने छ ।
यसलाई उडाउन ५४० फिटको रनवेको आवस्यकता पर्ने छ भने ल्याडिङ गर्न केवल १०० फिटको रनवे भए पुग्नेछ । यो कार किन्न चालकसँग ड्राइभिङ र पाइलट दुबैको लाइसेन्स जरुरी हुने बताइएको छ ।
१०२ लिटरको फियुल ट्याङ्की दिइएको कारले उढ्दा ५०० किलोमिटर र गुड्दा १२०० किलोमिटर माइलेज प्रदान गर्छ । यी कार सबै उत्पादनको १५० घण्टा लामो परिक्षण पछि मात्रै ग्राहकलाई दिइने कम्पनीले जनाएको छ ।

