काठमाडौं । नयाँ वर्षलाई लक्षित गरेर विभिन्न गाडी बिक्रेता कम्पनीहरूले ग्राहकलाई लोभ्याउन विशेष अफरहरू ल्याउने गरेका छन् ।
‘नयाँ वर्षमा, केही नयाँ गरौँ’ भन्ने चाहना सबै नेपालीहरूको रहेको पाइन्छ । त्यसैले वस्तु तथा सामान बिक्रेताहरूले नयाँ वर्षमा आफ्नो बिक्री धेरै होस् भनेर विभिन्न उपहार योजना तथा स्किम सार्वजनिक गर्ने गरेका छन् । सवारी बिक्रेताहरूले नयाँ वर्ष लक्षित गरेर विभिन्न योजना ल्याएका छन् ।
हुन्डाई मोटर्सको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित ‘हुन्डाई न्यू इयर डिलाइट’ योजना सुरु गरेको छ । कम्पनीकाअनुसार चैत ८ गतेदेखि सुरु भएको योजना अवधिभर ग्राहकले हुन्डाईको गाडी खरिद गर्दा ७ लाख १३ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । यसैगरी, कम्पनीले गाडी एक्सचेञ्ज र फाइनान्सिङको सुविधा पनि दिएको छ । हुन्डाईको गाडी किन्दा ४ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी दिने कम्पनीले जनाएको छ । कम्पनीको यो अफर वैशाख महिनासम्म सञ्चालन हुनेछ ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ वर्ष लक्षित ‘सुनौलो नयाँ वर्ष’ योजना ल्याएको छ । नेक्सनबाहेकको हरेक प्यासेन्जर भेहिकलमा ग्राहकले गाडीको मोडलअनुसार ६ तोलासम्म सुन पाउन सक्ने योजना कम्पनीले ल्याएको छ । यस योजनामा ग्राहकले एक वर्षको निःशुल्क बीमा, निःशुल्क एसोसोरिज, सवारी कर, एउटा आर्थिक १ वर्षको सडक कर तथा दर्ता र नामसारी कम्पनीले नै गरिदिनेछ ।
यसैगरी, सुजुकी मोटर्सको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले हरेक गाडीको खरिदमा ३० हजार रुपैयाँदेखि एक लाख ५० हजारसम्मको छुट हुने जनाएको छ । नयाँ वर्षको योजना अवधिभर ग्राहकले सुजुकीको गाडी खरिद गर्दा फ्रि इन्स्योरेन्स सुविधा पाउनेछन् । ग्राहकले योजना अवधिभर अघि-पछि दिइँदैआएको नगद छुट पनि पाउनेछन् भने गत सातादेखि सुरु भएको नयाँ वर्ष योजना वैशाख महिनाभर चल्नेछ ।
फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले नयाँ वर्षमा नयाँ योजना ल्याएको छ । फोर्डको गाडी खरिदमा विशेष नगद छुट, स्योर सट प्राइज र पाँच जोडीलाई अन्नपूर्ण बेस क्याम्पको ट्रीप पाउनेछन् । यो योजना सीमित अवधिका लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
एमएडब्लू इन्टरप्राइजेजले स्कोडा गाडीमा चैत १ गतेदेखि नै नयाँ वर्षको योजना ल्याएको हो । उक्त योजनाअनुसार गाडी किन्दा २५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ भने ८.९९ प्रतिशत व्याजदरमा ६५ प्रतिशत फाइनान्सको सुविधा उपलब्ध हुनेछ । यो योजना स्कोडा ¥यापिडमा मात्र लागू हुनेछ ।
निसान तथा ड्याटसनका कारमा पनि नयाँ वर्ष अफर रहेका छन् । ड्याटसन र निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कार्पले ड्याटसन कारमा मेघा डिस्काउन्ट, हरेक गाडी खरिदमा मलेसिया ट्रीप, मेघा एक्सचेञ्ज बोनस र निसानका कारको खरिदमा विशेष नगद छुट, १ वर्षको बीमा र सडक कर, तीन वर्षको सर्भिस तथा वारेन्टीलगायत योजना ल्याएको छ । निसानको माइक्राको खरिदमा पनि मलेसिया जान पाइने योजना छ ।
रेनो नेपालका लागि आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइलले नयाँ वर्ष २०७५ का लागि विभिन्न अफर ल्याएको छ । रेनोत्सव योजनामा रेनोको गाडी खरिदमा आकर्षक छुट, ५ वर्षको फ्रि सर्भिसिङ, ३ वर्षको सवारी कर, स्पट फाइनान्सलगायत सुविधा पाउनेछन् ।
कियाका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टलले नयाँ वर्षका लागि विभिन्न योजना ल्याएको छ । यो अफरमा कियाको पिक्यान्टो र स्पोर्टेजको खरिदमा ४ रात ५ दिनको सिंगापुर जान पाउनेछन् । त्यस्तै, कियाका गाडीको खरिदमा सजिलै फाइनान्स, ३ वर्ष वारेन्टी र स्पट एक्सचेञ्ज हुने कम्पनीले जनाएको छ ।

