रेनो ट्राइबर टेष्ट ड्राइभ रिभ्यूः अपत्यारिलो इन्जिनको उत्कृष्ट पर्फमेन्स (भिडियोसहित)

काठमाडौं । एड्भान्स अटोमोवाइल्सले हालै मात्र नेपाली बजारमा सार्वजनिक गरेको रेनोको ट्राइबर एक एमपीभी (मल्टी पर्पोज भइकल) हो । ५ वा ७ सीट आफ्नो आवस्यकता अनुसारको अप्सनमा प्रयोग गर्न सकिने यो एमपीभी नेपालमा उपलब्ध ७ सीट क्षमताको कार मध्ये सबैभन्दा सस्तो कार हो ।

ठूलो परिवार वा धेरै साथीभाइ एकैपटक यात्रा गर्न सकिने यो एमपीभी साना तथा मझौला व्यवसायीहरुलाई पनि आफ्नो व्यापार विस्तारमा सघाउ पूर्याउन सजिलो हुने किसिमको छ । होटल तथा ट्राभल एजेन्सीलाई पनि ५ सीट मात्र राखेर चलाउँदा यसमा उपलब्ध हुने ६२५ लिटरको विशाल बुटस्पेसले अत्यन्त सहज बनाउने छ ।

हामीले गत विहिबार एड्भान्स अटोमोवाइलको डिलर जीअटोमोवाइलसँग एक दिनको लागि रेनो ट्राइबर लिएर काठमाडौंका विभिन्न बाटाहरुमा चलाएर परिक्षण गरेका थियौ । हामीले टेष्ट ड्राइभमा प्रयोग गरेको ट्राइबर टप भेरियन्ट आरएक्सजेड रहेको थियो ।

उक्त भेरियन्टमा उपलब्ध स्मार्ट एक्सेस कार्ड निकै आकर्षक लाग्यो । यसको विशेषता भनेको यो कार्ड साथमा लिएर गाडीको एक मिटर नजिक गएपछि गाडी आफै अनलक हुने र गाडीको रेञ्जबाट १ मिटर मात्र पर जाँदा आफै लक हुने गर्छ ।

एटिएम कार्डको सेपमा रहेको यो कार्डमा गाडी लक–अनलक बटम पनि रहेको छ जसको सहयोगमा म्यानुयल्ली गाडी लक÷अनलक गर्ने तथा बुट खोल्ने आदि काम पनि गर्न सकिन्छ । साथै इमर्जेन्सीको लागि कार्ड भित्र सामान्य साँचो पनि राखिएको छ ।

यसको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । ठूलो साइजको इन्फोटेन्मेट स्कृन प्रयोग गर्दा एकदमै रेस्पोन्सिभ र राम्रो क्वालीटीको हामीले पायौ । यो कारको ड्राइभिङ सीटमा बस्दा पनि छुट्टै अनुभव हुने रहेछ । यसको ओडोमिटर, टेको मिटर तथा ड्राइभिङ इन्फर्मेसन सबै डिजिटल रहेको छ ।

आफ्नो हाइट अनुसार एडजस्ट गर्न पनि सकिने स्टेरिङ ह्वील पनि राम्रो पोजीसनमा रहेको छ । गियर नब अलि अग्लो रहेकोले गियर चेन्ज गर्न पनि सहज हुन्छ ।

हामीले चलाएको भेरियन्टमा स्टार्ट गर्नको लागि साँचो घुमाउनु पर्दैन । किनकी यो गाडीमा पुस स्टार्ट÷स्टप बटम दिइएको छ । क्याविनमा मनग्य स्टोरेजहरु रहेको यो कारमा कुल्ड गियर बक्स पनि रहेको छ । जसको सहायताले यात्राको क्रममा पानी तथा कोल्ड ड्रिङक्सहरु चीसो बनाउन मद्दत गर्दछ ।

पछाडि फस्ट रोको सिटलाई पनि इनक्लाइन र डिक्लाइन गर्ने अप्सन दिइएको छ । जुन यो सेग्मेन्टमै पहिलो हो । यो एमपीभीमा दोस्रो रोकालागि एसीभेन्ट वीचमा नराखेर ढोकाको साइड साइडमा राखिएको छ । जसले पछाडि बस्ने सबैजनालाई एसीको सुविधा उपलब्ध रहने छ ।

तेस्रो रोको सिटमा भने ठूलो व्यक्ति बसेर लामो यात्रा गर्न भने असहज हुने रहेछ । साना बच्चाहरु तथा छोटो यात्रामा भने ठूला व्यक्तिहरु आरामले यात्रा गर्न सक्छन् ।

चलाउनु अगाडि ३ सिलिण्डरको ९९९ सीसीको मात्र इन्जिन रहेको थाहा पाउँदा यसको पावर कस्तो होला भन्ने जिज्ञासा रहेको थियो । तर रेनोले विकास गरेको इनर्जी सिरीजको इन्जिनले हाम्रो शंकालाई गलत सावित गर्यो ।

यसको इन्जिनले ७२ पीएसको पावर तथा ९४ एनएमको टर्क जेनेरट गर्छ । हामी ५ जना बसेर फुलएसी चलाएर हिड्दा समेत केही अफ्ट्यारो महसुस भएन । कच्ची तथा ठाडो उकाला बाटाहरुमा पनि यो कारको पर्फमेन्सले अचम्मीत पार्न सफल रह्यो ।

सुरक्षाका लागि राखिएको ड्राइभर र प्यासेन्जर दुबै साइडको एयरव्याग तथा एबीएस ब्रेकिङ सिस्टमले यसलाई अझ सुरक्षीत बनाएको छ ।


Back_to_top