काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण एक महिनादेखि नेपाल लकडाउनमा रहेको छ । लकडाउनको समय बढ्दै जाँदा मानिसहरुमा एक किसिमको छटपटि सुरु भएको छ ।
यस्तोमा लकडाउनपछि बजारमा अहिले बिक्री भइरहेका प्रिमियम ह्याचव्याक सेग्मेन्टमा अर्को नयाँ कार थपिने भएको छ । मार्च पहिलोसाता बजारमा ल्याउने तयारी भएको टाटा अल्ट्रोज कोरोना भाइरसको कारण नै नेपालमा सार्वजनिक हुन सकेको छैन ।
अहिले प्रिमियम ह्याचव्याक सेग्मेन्टमा मारुती सुजुकी बलेनो र हुन्डाई इलाईट आई २० मात्र बिक्री भइरहेको छ । यस्तोमा टाटाले ल्याउने अल्ट्रोज यही सेग्मेन्टमा बिक्री हुने कार हो ।

यस्तोमा यी तिन कारमा भएका केही समान र केही फरक बिशेषता यहाँ राख्ने हामीले प्रयास गरेका छौं ।
इन्जिन
यी तीनवटै मोडलमा समान पेट्रोल इन्जिन उपलब्ध रहेको छ । टाटा अल्ट्रोजमा रहेको ११९९ सीसी क्षमताको इनलाइन थ्रि सिलिण्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा अधिकतम ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्नेछ ।
त्यस्तै हुन्डाई इलाइट आई २० मा रहेको ११९७ सीसी इनलाइन फोर सिलिण्डर इन्जिनले ६००० आरपीएममा अधिकतम ८३ पीएस पावर र ४००० आरपीएममा ११४ एनएम टर्क प्रदान गर्छ ।
त्यसैगरी मारुती सुजुकी बलेनोमा रहेको ११९७ सीसी इनलाईन फोर सिलिण्डर इन्जिनले ६००० आरपीएममा अधिकतम ८९.७३ पीएस पावर र ४००० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । यी तीन वटै इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।

डायमेन्सन
लम्बाई चौडाई र उचाईको आधारमा बलेनो सबैभन्दा ठूलो रहेको छ भने सबैभन्दा कम ह्वीलवेस हुन्डाई क्रेटाको रहेको छ । यी तीन मध्ये सबैभन्दा उत्कृष्ट स्पेस मेनेजमेन्ट भने अल्ट्रोजले गरेको छ ।
मूल्य
नेपाली बजारमा टाटाले अल्ट्रोज सार्वजनिक गरिसकेको छैन यद्यपी हुन्डाई र मारुती सुजुकीको तुलनामा कम्पनीले यसको मूल्य केही कम नै राख्ने अनुमान गरिएको छ ।
अहिले बजारमा मारुती सुजुकीले बलेनो ३ भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले बलेनो अल्फा, जेटा र डेल्टा मोडलको बिक्री गर्दै आएको छ । यस्तोमा कम्पनीले यी मोडलको मूल्य क्रमश ३८ लाख ९९ हजार, ३५ लाख ८९ हजार र ३२ लाख ८९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

हुन्डाईले इलाईट आई २० लाई २ भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले आई २० मग्ना प्लसको मूल्य ३३ लाख ५६ हजार र स्पोर्ज प्लसको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
यी दुबै मोडललाई टक्कर दिन आउने टाटा अल्ट्रोजको मूल्य ३१ लाखदेखि ३६ लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ ।


