काठमाडौं । एक महिनाभन्दा लामो लकडाउन अझै निरन्तर बढी रहेको छ । सरकारले यसअघि नै तेस्रोपटक लकडाउनको अवधी थपेर आगामी १५ गतेसम्म लगिसकेको छ । यस्तोमा अझै लकडाउन बढ्ने कुरा आइरहेको समयमा अत्यावश्यक सेवाको लागि कुद्ने सवारीसाधनको सर्भिसिङ कसरी गर्ने भन्ने समस्या सृजना भएको छ ।
यस्तोमा जिल्ला प्रसाशन कार्यालयले अत्यावश्यक सेवामा चल्ने सवारीसाधनको मर्मत सम्भार अझ अत्यावश्यक हुने भन्दै यस्तो सेवा संचालनमा ल्याउन आफुहरु तयार रहेको जनाएको छ ।
‘लकडाउनको समयमा अत्यावश्यक बस्तु तथा सेवा प्रदान गर्न चलाईने सवारीसाधनको मर्मत सम्भार झनै आवश्यक हुन्छ । यस्ता सेवा दिने सर्भिस सेन्टरहरु कसरी संचालनमा ल्याउने भन्ने विषयमा हामी छलफलमा छौं’ सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जीवन आचार्यले मेरोअटोसँग भने ।
आचार्यका अनुसार कुन-कुन कम्पनीले कहाँ कहाँको सर्भिस सेन्टर संचालन गर्नु पर्ने हो, त्यसको लिखित निवेदन सहित आएर सेवा संचालनको स्विकृति लिन सक्ने छन् ।
अहिले बजारमा सबैभन्दा धेरै सवारीसाधन रहेका महिन्द्रा, टाटा, मारुती सुजुकी, हुन्डाई, फोर्ड जस्ता कम्पनीले आफ्नो सर्भिस सेन्टर खोल्न नपाएपनि एउटा सर्भिस भ्यानको प्रयोग गर्दै सेवा दिइरहेका छन् ।
‘लामो समयदेखि सर्भिस सेन्टर संचालनमा नआउँदा अत्यावश्यक सेवामा चल्ने सवारीसाधनको पनि राम्रोसँग सर्भिसिङ गर्न सकिएको छैन’, गाडी बिक्रेताहरुले सामूहिक रुपमा भन्ने गरेका छन् ।
पछिल्लो समय लकडाउनको अवधिमा घर जान हिडेका सवारीसाधनपनि बीचबाटोमा बिग्रिएर बसेकाले ती गाडीलाई सर्भिससेन्टरमा लगेर राखिदिन आग्रह गर्ने ग्राहकपनि थुप्रै रहेका छन् ।
यस्तोमा अन्य अत्यावस्यक सेवा जस्तै सवारीसाधन सर्भिस सेन्टरपनि व्यवस्थित तरिकाले संचालनमा ल्याउनु पर्ने आवश्यकता देखिन थालेको छ ।


