काठमाडौं । हिरो र होन्डाको साझेदारी टुटेपछि नेपालमा पछाडि परेको हिरो मोटोकर्पका उत्पादन पुनः आक्रमक बजार बिस्तारको बाटोमा अगाडि बढेको छ । कम्पनीले एकपछि अर्को नयाँ मोडल उत्पादन गर्दै बजारमा ल्याउन सुरु गरेसँगै कम्पनीको बजारमा पकड बढ्ने देखिएको हो ।
अहिले नेपालमा हिरोको विभिन्न रेञ्जका स्प्लेन्डर, एक्सपल्स २०० र ड्यूट स्कुटरले निकै राम्रो बजारमा पाइरहेको छ । यस्तोमा कम्पनीले ल्याएको नयाँ प्यान प्रो र केही समयपछि आउने एक्सट्रीम १६० आरको कारण नेपालमा हिरोको बजार हिस्सा बढ्ने देखिएको हो ।
हिरोको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आफ्ना पछिल्ला उत्पादनले बजारमा राम्रै स्थान पाइरहेकाले अब आउने केही नयाँ मोडलको कारण बजारमा आफ्नो पहिलेको स्थान पाउने विश्वास लिएको छ ।
कुनै समय हिरो करिज्मा, सिबीजेड, स्प्लेन्डर जस्ता मोडलले एक छत्र राज गरेका थिए । त्यसपछि अन्य कम्पनीले स्टाइलिस मोटरसाइकल नेपाल लयाएर बिक्री बढाउन सुरु गरेसँगै हिरो पछि परेको थियो ।
अहिले नेपालमा हिरो पाँचौ धेरै मोटरसाइकल बिक्री गर्ने ब्राण्डमा रहेको छ । कुनै समय पहिलो कम्पनीसँग बराबरीमा रहेको हिरो पुरानै मोडल र कम्यूटर सेग्मेन्टको बिक्री घटेको कारण पछाडि परेको थियो । अहिले कम्पनीले नेपालमा १ लाख ६० हजारदेखि ३ लाख ८५ हजार मूल्यसम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
अहिले पनि नेपालको तराई भूभागमा हिरो स्प्लेन्डरको बिक्री धेरै भइरहेको छ भने काठमाडौंमा हिरो एक्सपल्सले निकै राम्रो बजार पाउन सफल भएको छ । यस्तोमा १६० सीसी सेग्मेन्टमा आउन लागेको हिरो एक्स्ट्रीम १६० आरले हिरोलाई थप सफलता प्रदान गर्ने अनुमान गरिएको छ ।
२०२० को अन्त्यसम्ममा हिरोले थप ३०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको कारण अब नेपालमा हिरो ब्राण्डले आफ्नो खोसिएको ताज फिर्ता लिन कोशिष गर्ने देखिन्छ ।


