एकै पटक ३ लाखभन्दा बढीलाई स्मार्ट लाइसेन्स दिइने

काठमाडौं । लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट भइरहेकाले लकडाउन सकिएपछि करिब करिब ३ लाखभन्दा बढीले एकै पटक लाइसेन्स पाउने भएका छन् ।

चैत ११ गते देखि लकडाउन सुरु भएको र आगामी जेष्ठ १० गतेसम्म नै लकडाउन निरन्तर कायम रहने भएकाले लकडाउन खुल्नासाथ ३ लाखभन्दा बढीको हातमा लाइसेन्स आउने भएको हो ।

‘अहिले हामीले धमाधम कार्ड छपाई गरिरहेका छौं, लकडाउन सकिएपछि तीनलाख भन्दा बढीलाई कार्ड वितरण गछौं’, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।

यो आर्थिक वर्ष भित्र छपाई कार्य पर्खिरहेका करिव ४ लाख लाइसेन्स छाप्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको हमालले बताए  ।

दैनिक ५ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भइरहेकाले ट्रायल पास गरेर प्रतीक्षामा बसेका ३ लाखभन्दा बढी सवारी चालकले लकडाउन खुले लगत्तै सवारीचालक अनुमतिपत्र पाउने छन् । स्थिती सामान्य हुने बित्तिकै दैनिक एक लाख जनाभन्दा बढीले लाइसेन्स पाउने गरि काम भइरहेको हमालले बताए ।

अहिले मास प्रिन्टरमार्फत छपाइ भइरहेको छ । विभागसँग एउटा मास प्रिन्टर, ७ लाख कार्ड र चारवटा साना मेसिन छन् ।


Back_to_top