अब सबै पेट्रोल पम्पमा उच्च गुणस्तरको पेट्रोल, बीएस ६ इन्जिन भएका मोटरसाइकल आयात कहिले

काठमाडौं । बीएस ६ मापदण्ड अनुसारको गुणस्तरिय पेट्रोलियम पदार्थ नेपालका सबै पेट्रोल पम्पहरुमा उपलब्ध हुन थालेसँगै बीएस ६ मापदण्डका मोटरसाइकलको पखाई सुरु भएको छ । गत चैत १९ गतेदेखि नियमितरुपमा नेपाल आउने पेट्रोलियम पदार्थ बीएस ६ मापदण्ड अनुसारको आइरहेको हो ।

नेपालमा बीएस ६ मापदण्डमा पहिलो दुई पाङ्ग्रे सवारीसाधनको रुपमा यामाहाले १२५ सीसी क्षमताको स्कुटर फेसिनो नेपाली बजारमा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ । साथै, यामाहाले चाँडै रेजेडआर १२५ स्कुटरपनि नेपाली बजारमा ल्याउने भएको हो ।

त्यसैगरि नयाँ मापदण्डको इन्जिनमा क्रमिकरुपमा अन्य कम्पनीहरुले पनि आफ्नो नयाँ उत्पादन नेपाल ल्याउने छन् । बजाजले डोमिनार २५०, हिरोले एक्स्ट्रीम १६० आर जस्ता मोडलपनि बीएस ६ मापदण्डको इन्जिनमा नै नेपाल आउने छन् ।

अहिले सबै कम्पनीले भारतमा बीएस ६ मापदण्डमा आफ्ना मोडलहरुलाई अपग्रेड गरेकाले नेपालमा ती मोटरसाइकल तथा स्कुटर क्रमिकरुपमा नेपाल आउने भएका हुन् ।

अहिले नेपालमा करिब ९७ प्रतिशतभन्दा बढी मोटरसाइकल भारतमा उत्पादन भएका बिक्री हुँदै आएका छन् । नेपाल र भारतमा प्रयोग हुने पेट्रोलियम पदार्थ पनि समान गुणस्तरको भएकाले सवारीसाधनको पर्फमेन्स राम्रो हुने मानिन्छ ।

चैत १९ पछि नेपालका सबै पेट्रोलपम्पमा क्रमिकरुपमा नयाँ मापदण्डको पेट्रोलियम पदार्थ वितरण गरिएको आयल निगमले जनाएको छ । निगमका अनुसार नयाँ मापदण्डको पेट्रोलियम पदार्थमा सल्फरको मात्रा कम हुने भएकाले यसले कम प्रदुषण गर्ने छ ।

संभवत आगामी नाडा अटो शो २०२० सम्ममा बीएस ६ मापदण्डको इन्जिनमा थुप्रै मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top