भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

जाजरकोट । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् । 

जाजरकोट-डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो । 

भेरी करिडोरअन्तर्गत रहेको यस सडकखण्डको ११७.५ किलोमिटर सडकमध्ये ११५.७ किलोमिटर निर्माण पूरा भएको छ । जाजरकोट-डोल्पा सडक निर्माण २०६५ सालदेखि शुरु भएको थियो । 

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाइ रहेको निर्माणाधीन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म ११५.७ किलोमिटर सडकको मार्ग खोल्ने काम सम्पन्न भई हलुका सवारीसाधन जिप र ट्र्याक्टर सञ्चालनमा आइसकेका छन् । 

यातायात सञ्चालनमा ल्याइएसँगै वर्र्षौंदेखिको सडक सञ्जालमा जोडिने डोल्पालीको सपना विस्तारै पूरा हुँदै गइरहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, ६ र १ मा पर्ने सिउडेनी चिप्लेभिरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडक मार्ग खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ । 

डोल्पालीले यातायात नहुँदा खेप्नुपरेको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानीसम्मको सडकखण्डमा जिप ट्र्याक्टरलगायत हल्का सवारीसाधन र खदाङदेखि चिप्लेभिरसम्मको सडकखण्डमा ट्र्याक्टर सञ्चालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट-डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए । 

डोल्पा भूभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङसम्मको १५ किलोमिटर सडकमा यातायात सञ्चालनमा ल्याइएसँगै नेपालगञ्ज-डोल्पाको यात्रासमेत छोटिएको छ । निर्माणाधीन जाजरकोट-डोल्पा सडकको चिप्लेभिरदेखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भिर खोल्ने कार्य भदौ महिनाभित्रमा सम्पन्न गरी असोजको पहिलो सातामा सडक सम्पन्न गरेर २०७५ को दशैँ र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनैसम्मलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाले जनाएको छ । जाजरकोट-डोल्पा निर्माणाधीन सडक राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको छ । 

भारतको रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका डोल्पाको धोमोरिम्लासम्मको सडकलाई भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु-जाजरकोट-डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रुपमा रहेको छ । 

जडीबुटीको भण्डारका रुपमा रहेको डोल्पा सडक सन्जालसँग जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पाली आर्थिक समृद्धितर्फ लम्किने कर्णाली प्रदेशका सभासद् वदमीक्वारा बुढाको भनाइ छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे-फोक्सुण्डो ताल भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरसमेत रहेकाले सडक सञ्जाल पुगेपछि भारतीय तथा तिब्बती पर्यटक डोल्पा पुग्ने विश्वास स्थानीयवासीको छ । 

पाँचवटा ठूला र पाँचवटा साना मोटरेबल पुल नबनेसम्म सडक निर्माण सम्पन्न हुने अवस्था नरहेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले बताए । 

चीन र भारतलाई भेरी करिडोरले जोड्ने 

भारतको रोपैडिया जमुनाहदेखि शुरु भएको सो सडक डोल्पाको धो मरिम्ला चीनको सिमानासम्म पुग्नेछ । सो सडकको त्रिदेशीय महत्व छ । कर्णाली प्रदेशको सबभन्दा महत्वपूर्ण सडकका रुपमा रहेको उक्त सडक एक वर्षभित्र दुनै पुग्ने विश्वास डोल्पाकी सांसद सत्या पहाडीको छ । बजेट न्यून रहेका कारण डोल्पाको विकास हुन नसकेको उहाँको भनाइ छ । भौगोलिकरुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्छ । 


Back_to_top