काठमाडौं । विश्व अर्थतन्त्रमा कोभिड १९ को संक्रमणले ठूलो धक्का दिएको छ । यस्तोमा हरेक क्षेत्रले कोभिडले पारेको असरका विषयमा रिपोर्टहरु सार्वजनिक गर्न थालेका छन् । यस्तोमा यसको अत्याधिक असर पर्ने क्षेत्र मध्यको एक क्षेत्र अटोमोवाइल पनि हो ।
लग्जरी सामान उत्पादन गर्ने कम्पनी, पर्यटन, हवाई, होटल तथा रेस्टुरेन्ट व्यवसाय, सपिङ कम्प्लेक्सदेखि ठूला डिपार्टमेन्ट स्टोरसम्मको व्यवसायमा परेको असरले समग्र अटोमोवाइल क्षेत्रको बिक्रीमा ठूलो असर पर्ने आँकलन सुरु भएको छ ।
स्टाटिस्टाले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२० मा ५ करोड ९५ लाख यूनिट कार बिक्री हुने प्रक्षेपण गरेको छ । रिपोर्टको अनुसार मानिसहरुको आयमा आउने कमी, विश्व अर्थतन्त्रमा आउने गिरावट र धेरै मानिसले रोजगारी गुमाउने खतरा रहेकाले सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १ करोड ५५ लाख यूनिट कम कारको बिक्री हुने अनुमान गरिएको छ ।

स्टाटिस्टाले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१८ मा विश्वभर ७ करोड ८९ लाख यूनिट कार बिक्री भएको थियो भने सन् २०१९ मा ७ करोड ५० लाख यूनिट कार बिक्री भएको थियो ।
उक्त कम्पनीले कोरोना भाइरसको आक्रमण सुरु हुनु अघि सन् २०२० मा करिब ८ करोड कार बिक्री हुने प्रक्षेपण गरेको थियो । तर, नयाँ रिपोर्टले अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बिक्रीमा गिरावट आउने तथ्यांक सार्वजनिक गरेको हो ।


