तीन वर्षमा नेपाल आए १ हजार इलेक्ट्रीक कार, सरकारी संयन्त्रले किन बोल्यो झुट

काठमाडौं । केही दिनअघि भन्सार विभागका महानिर्देशकले एउटा पत्रिकामा ‘बार्षिक एक हजारको संख्यामा करोड पर्ने इलेक्ट्रीक कार’ आयात भएपछि सरकारले विद्युतीय गाडीमा कर बढाउनु परेको बताएको समाचार निकै चर्चामा रह्यो ।

भन्सार विभागका महानिर्देशकले नै हजारौको संख्यामा आयात भएको बताएपछि यसलाई नागरिकले झुटो भनेर बुझ्ने कुरै भएन । तर, उनले यो विषयमा नागरिकलाई झुटो नै बोलेको हो भन्ने कुरा भन्सार विभागको तथ्यांकले नै प्रस्ट पार्छ ।

हिजो विभागले दुई वर्षको आयातलाई प्रकाशन नै गरेर तथ्यांक दिएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले इलेक्ट्रीक गाडीमा बढेको भन्सारलाई सरकारको सही कदम पुष्टी गर्न धनीमानीले विलासीताको लागि प्रयोग गर्ने इलेक्ट्रीक कारमा कर छुट सुविधा दिन नसकिने समेत दाबी गरेका थिए । उनले भने जस्तो करोडौं पर्ने कार हजारको संख्यामा आएको होइन ।

तर, यथार्थ भने अर्कै छ । भन्सार विभागको तथ्यांक अनुसार नै आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा ५७४ यूनिट गाडी आयात भएको छ । त्यसैगरि आर्थिक वर्ष २०७५/७६ मा ३६१ यूनिट र आर्थिक वर्ष २०७४/७५ मा ६६ यूनिट मात्र इलेक्ट्रीक कार आयात भएको देखिन्छ ।

पछिल्ला तीन वर्षमा १ हजार १ यूनिट इलेक्ट्रीक कार आएको भन्सार विभागको तथ्याङ्कमा नै उल्लेख रहेको छ ।

विगत १० वर्षभन्दा बढी समयदेखि इलेक्ट्रीक कार बिक्री गर्दै आएको अग्नी ग्रुपले अहिलेसम्म ४०४ यूनिटमात्रै इलेक्ट्रीक कार बिक्री गरेको तथ्यांक बाहिर ल्याएको छ । महिन्द्रा नेपालमा सबैभन्दा कम मूल्यका इलेक्ट्रीक कार बिक्री गर्ने मध्येको एक कम्पनी हो ।

अहिले महिन्द्रा, हुन्डाई, एमजी, किया, बिवाइडी र दिगो ग्रुपले इलेक्ट्रीक गाडी बिक्री गर्दै आएका छन् । महंगो गाडीको रुपमा करिब एक दर्जन अउडी, ज्यागुअर र टेस्लाका कार पैठारी ऐन विपरित बाटोबाट आयात भएका थिए । तर केही यूनिट आएपछि अरु गाडी सरकारले भन्सार पास गरेको छैन ।


Back_to_top