काठमाडौं । लामो समय लकडाउनमा थन्किएका सवारीसाधन लकडाउन खुकुलो गर्दै जाने सरकारको तयारीपछि पुनः सडकमा गुड्न थालेका छन् । विगतमा भन्दा अहिले सडकमा गाडीको संख्या उल्लेखनिय रुपमा बढ्न थालेको छ ।
यदि तपाई पनि झण्डै ७७ दिनपछि आफ्नो सवारीसाधन लिएर काममा निस्कने तयारी गर्दै हुनुहुन्छ भने त्यसको कन्डिसनको बारेमा राम्रोसँग विचार गरेर मात्रै प्रयोग गर्नुहोस् ।
अहिले पनि गाडी बिक्रेता कम्पनीहरुले सर्भिस सेन्टर संचालन गरिरहेका छन् । यदि गाडीमा केही समस्या देखियो भने तत्काल यस्ता सवारीसाधनलाई मर्मत सम्भार गरेर मात्रै प्रयोगमा ल्याउनु उपयुक्त मानिन्छ ।
हुन्डाईले आफ्ना देशभर रहेका सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ । उसले काठमाडौं उपत्यकामा रहेका आफ्नो ५ वटै सर्भिस सेन्टर संचालन गरिरहेको छ भने उपत्यका बाहिर पोखरामा दुई वटा र अन्य स्थानमा रहेका सबै सर्भिस सेन्टर चलाई रहेको जनाएको छ ।
त्यसैगरि मारुती सुजुकीले पनि उपत्यकामा ४ वटासहित अन्य क्षेत्रमा रहेको आफ्ना सर्भिस सेन्टरहरु संचालन गरिरहेको जनाएको छ ।
महिन्द्राले पनि लकडाउनको अवधिमा आफ्ना केही सर्भिस सेन्टरहरु संचालनमा ल्याएको थियो भने अहिले आफ्ना प्रायः सबै सर्भिस सेन्टरहरु संचालनमा ल्याएको जनाएको छ ।
टाट मोर्टसले पनि आफ्नो सर्भिस सेन्टरहरु संचालन गरिरहेको जनाएको छ । ग्राहकले आफ्नो पायकपर्ने स्थानमा गएर आफ्नो गाडी सर्भिसिङ गराउन सक्ने सिप्रदी ट्रेडिङले जनाएको छ ।
यसका अलावा फोर्ड, रेनो, निसान, डाट्सन, किया, जीप, एमजी लगायतका ब्राण्डले पनि आफ्ना सर्भिस सेन्टरहरु संचालनमा रहेको जानकारी दिएका छन् ।


