काठमाडौं । लामो लकडाउनपछि खुलेका गाडी कम्पनीहरुले भारतमा गाडी बिक्री बढाएका छन् । नेपालमा असार २ गतेबाट मात्रै गाडीका शोरुमहरु खुलेको भएपनि भारतमा करिब ५० दिनअघि बाटै गाडीका शोरुमहरु खुलेका थिए । यद्यपी भारतमा पनि नेपालकै जस्तो केही क्षेत्रमा लकडाउन अझै जारी रहेको छ ।
भारतीय बजारमा जुन महिनामा कम्पनीहरुले बिक्री गरेको गाडीका तथ्यांकहरु बाहिर आएका छन् । अघिल्लो वर्षको जुनको तुलनामा यस वर्ष करिब ४८ प्रतिशतले बिक्रीमा गिरावट आएको छ ।
२०१९ जुनमा २ लाख २६ हजार १६३ यूनिट कार बिक्री भएकोमा २०२० जुनमा १ लाख १७ हजार ४५३ यूनिट कार बिक्री भएको छ ।
जुनमा सर्वाधिक कार मारुती सुजुकीले बिक्री गरेको छ । कम्पनीले ५१ हजार ७२४ यूनिट कार बिक्री गर्दा दोस्रो स्थानमा रहेको हुन्डाईले २१ हजार ३२० यूनिट बिक्री गरेको हो ।
सूचीको तेस्रो स्थानमा टाटा रहेको छ । कम्पनीले ११ हजार ४१९ यूनिट कार बिक्री गर्दै तेस्रो स्थान भेट्टाएको हो । चौथो स्थानमा रहेको महिन्द्राले ८ हजार ७५, पाँचौ स्थानमा रहेको कियाले ७ हजार र छैटौं स्थानमा रहेको रेनोले ४ हजार ६३४ यूनिट कार बिक्री गरेको छन् ।
टोयोटाले ३ हजार ८६६ यूनिट कार बेच्दा फोर्डले २ हजार ६३९ यूनिट र एमजीले २ हजार १२ यूनिट बिक्री गरेका छन् । त्यसैगरि फक्सवागनले १ हजार ५००, होन्डाले १ हजार ३९८, स्कोडाले ७९०, निसानले ५७६, फियात क्राइसलरले ३५० र अन्य कम्पनीले १५० यूनिट कार बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको हो ।

