काठमाडौं । मारुती सुजुकीले कोभिड १९ को असरले गाडी किन्न चाहेर पनि एकमुष्ठ डाउन पेमेन्ट वापतको ५० प्रतिशत जम्मा गर्न नसक्ने ग्राहकहरुलाई कार किन्न सजिलो होस् भनेर कम डाउन पेमेन्टमा गाडी दिने योजना अगाडि ल्याएको छ ।
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले ल्याएको अफरमा बि-सेग्मेन्ट कार सेलेरियो किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ कार खरिद गर्न सक्ने छन् ।
कम्पनीले सेलेरियोको वेस भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो कारमा कम्पनीले १ लाख २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको छ । उक्त नगद छुट घटाउदा गाडीको मूल्य २३ लाख ७४ हजार रुपैयाँ हुन्छ । कम्पनीले अन्य थप दुई भेरियन्टको बिक्री समेत गर्दै आएको छ ।
ग्राहकले २३ लाख ७४ हजार रुपैयाँको २५ प्रतिशत हुन आउने रकम ५ लाख ९३ हजार ५०० रुपैयाँ जम्मा गरेर गाडी किन्न सक्ने छन् । ग्राहकले यो अफरमा कार किन्दा कर्जा वापत १७ लाख ८० हजार ५०० रुपैयाँ लिनु पर्ने हुन्छ ।
यसरी लिएको कर्जामा ११ प्रतिशत व्याजदर लाग्ने छ । उक्त व्याजदरमा ८ वर्षमा कारको सम्पूर्ण रकम चुक्ता गर्नेगरि किन्दा ग्राहकले मासिक करिब २८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । अनुमानित मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यस्ता छन् अन्य सुविधा
सेलेरियो किन्ने ग्राहकले यही पुरानो गाडीसँग सट्टापट्ट गर्न ल्याएमा एक्सचेन्ज बोनसको रुपमा थप ५० हजार रुपैयाँ दिने छ । यसका अलावा २ वर्षको निःशुल्क सर्भिस, ४ वर्षको वारेन्टी, एक वर्षको सडक दस्तुर कम्पनीले व्योर्होने छ ।

यस्तो छ कार
मारुती सेलेरियोको लम्बाई ३ हजार ६९५ एमएम, चौडाई १ हजार ६०० एमएम र उचाई १ हजार ५६० एमएम रहेको छ । यसको ह्वीलवेश २ हजार ४२५ एमएम रहेको छ । यसमा बुट स्पेश २३५ लिटरको रहेको छ ।
सेलेरियोमा ९९९ सीसी क्षमताको तीन सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ६८ हर्स पावर र ९० एनएम टर्क प्रदान गर्छ । पारिवारिक कारको रुपमा नेपाली बजारमा यो कार निकै सफल कार हो ।


