काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने अफर ल्याएको छ ।
पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको जनाएको छ ।
यस योजनाअन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नु पर्नेछ ।
यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् ।
यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ ।
यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।
अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा संचालन गर्ने व्यवस्था मिलाउन कम्पनीले यो योजना ल्याएको जनाएको छ ।
इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए ।
भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्, अध्यक्ष पौडेलले भने ।
यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

