काठमाडौं । यो वर्ष बजाजको आधिकारीक वितरक एचएच बजाजले नेपालमा दुई मोडल सार्वजनिक गर्ने छ । कोरोना भाइरसको संक्रमण नफैलिएको भए अहिले दुबै मोडलको बिक्री सुरु भइसक्ने थियो ।
बजाजले पहिलो पटक २५० सीसी क्षमताको इन्जिनमा डोमिनार बजारमा ल्याउँदै छ भने पहिलो पटक स्कुटर सेग्मेन्टमा प्रबेश गर्ने तयारी गरिरहेको छ । कम्पनीले स्कुटर भने इलेक्ट्रीकमा ल्याउने छ ।
बजाजले १९९० को दशकमा चर्चित स्कुटर चेतकलाई इलेक्ट्रीक भर्सनमा भारतीय बजारमा बिक्री वितरण गर्दै आएको छ भने, नेपालमा एचएच बजाजले ल्याउने तयारी गरिरहेको छ । निकै क्लासिक डिजाइनमा आएको चेतक भारतमा लोकप्रिय बन्दै गएको छ ।
यस्तो छ डोमिनार २५०
डोमिनार २५० दिइएका अधिकांश फिचर डोमिनार ४०० बाट लिइएको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर यसको सबल पक्ष हो ।
त्यसैगरि अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर यसमा पाउन सकिने छ । स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेका छन् ।

ड्यूक २५० बाट लिइएको २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।
डोमिनार २५० को मूल्य नेपालमा ४ लाख ४० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।
चेतक स्कुटर
बजाजले करिब १४ वर्षपछि आफ्नो चर्चित स्कुटर चेतकको इलेक्ट्रीक भर्सन भारतमा उत्पादन गरेको हो । यसमा एप्रोन माउन्टेड एलइडी साइडटर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट दिइएको छ ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिनेगर्छ । यसमा स्प्लिट स्टाइल एलइडी टेलल्याम्प र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटी दिइएको छ ।

चालकले आफ्नो स्मार्टफोनमा एप जोड्न सक्ने छन् । यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्छ । इन्स्ट्रुमेन्ट क्लस्टरको डिप्लेमा ब्याट्री रेन्ज, स्पीड, सर्भिस ड्युइन्डिकेटर र समय लगायतका सूचना दिन्छ ।
चेतकको फ्रन्ट साइडमा सिंगल साइडेड टेलिस्कोपिक सेटअप र रियरमा सिंगल साइडेड स्प्रिंग सेटअप सस्पेन्सनको विशेषता दिइएको छ । फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको छ । चालकको सुरक्षाको लागि सिबिएस फिचर दिइएको छ ।
यसमा १२ इन्चको एमआरएफ ज्यापर के अलोय ह्वील लगाइएको छ । यो स्कुटर ब्ल्यु, रेड, ह्वाइट, सिल्भर, बेज र ब्ल्याक गरि ६ कलर अप्सनमा उपलब्ध हुने छ ।
यसमा वाटर र डस्ट प्रुफ आइपी ६७ ब्याट्री प्याक लगाइएको अनुमान गरिएको छ । ५-१५ एम्पीयर विद्युत क्षमता भएको घरायसी बत्तीमा चार्जर जोडेर ब्याट्री चार्ज हुने कम्पनीले जनाएको छ । यसको नेपालमा मूल्य २ लाख ७० हजार हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।

