यस्तो छ नयाँ एसयूभी बगवार्डको सुरुवाती मूल्य (फोटो-फिचरसहित)

काठमाडौं । पुरानो जर्मन ब्राण्ड बगवार्डको नयाँ एसयूभी काठमाडौं आएको छ । डिएसएम ग्लोवलले नेपाल ल्याएका यी एसयूभीको अहिले टेष्ट ड्राइभ भइरहेको छ ।

कम्पनीले काठमाडौं ल्याएको ३ यूनिट ‘बिएक्स ५’ एसयूभी २ यूनिट बिक्री भइसकेको र एक यूनिट गाडीमा टेष्ट ड्राइभ संचालन गरिरहेको कम्पनीले जनाएको छ । अहिले यी गाडी बालाजुमा रहेको भ्याली कोल्डस्टरको आउटलेटसँगै राखिएको छ ।

सन् १९१९ मा जर्मन व्यवसायी कार्ल एफ डब्ल्यू बगवार्डले स्थापना गरेको यो कम्पनीले उत्पादन गरेका क्लासिक कारहरु निकै चर्चित रहेका थिए । अहिले कम्पनीको स्वामित्व चिनीयाँ कम्पनीले खरिद गरेर एसयूभी उत्पादन सुरु गरेको हो ।

जर्मन ब्राण्ड बगवार्डको नयाँ एसयूभी मलेसियामा उत्पादन भएको हो ।

‘हामीले मलेसियामा बनेका उत्पादन नेपाल ल्याएका छौं । यसमा निकै प्रिमियम फिचर उपलब्ध रहेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले सुरुवाती मूल्य ९३ लाख रुपैयाँ निर्धारण गरेर यसको बिक्री सुरु गरेको छ । बालाजुमा नै कम्पनीले नयाँ सुविधा सम्पन्न शोरुम निर्माण गरिरहेको कम्पनीले जानकारी दियो ।

यस्तो छ बिएक्स ५

बगवार्ड बिएक्स ५को लम्बाई ४४९० एमएम, चौडाई १८७७ एमएम र उचाई १६७५ एमएम रहेको छ । यसमा २६८५ एमएमको ह्वीलवेस दिइएको छ ।

बीएक्स ५ मोडल दुई इन्जिन अप्सनमा नेपाल आएको छ । जसमा १.४ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन र २.० लिटर फोर सिलिण्डर इन्जिन उपलब्ध रहने छ ।

टर्बो इन्जिनले अधिकतम ५५०० आरपीएममा १५० पीएस पावर र १७५० देखि ४००० आरपीएममा २५० एनएम टर्क प्रदान गर्ने छ । साथै २.० लिटर इन्जिनले अधिकतम ५००० आरपीएममा २२४ पीएस पावर र ३०० एनएम टर्क प्रदान गर्ने छ ।

अल ह्वील ड्राइभ सिस्टम सहितको एसयूभीमा दिइएको दुबै इन्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

एसयूभीमा अटोमेटिक हेलोजेन हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेल लाइट, किलेस इन्ट्री, ८ इन्चको इफोटेन्टमेन्ट सिस्टम, सिंगल जोन एसी, डायमन्ड फ्रन्ट ग्रिल, १८ इन्च अलोय ह्वील जस्ता फिचर दिइएको छ ।

सुरक्षाको लागि कारमा ६ एयरव्याग, भेहिकल स्टेविलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top