फोटोनका विद्युतीय बस नेपाल आउने, यस्तो हुने छ मूल्य

काठमाडौं । चिनीयाँ कम्पनी फोटोनले उत्पादन गरेको विद्युतीय बस नेपाल आउने भएको छ । उक्त बसलाई फोटोनको आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धिले नेपाल ल्याउने भएको हो ।

बिजुली बस उत्पादनमा निकै आक्रमकरुपमा अगाडि बढिरहेको फोटोन मोटर्सले चीन लगायत विश्वका ११० भन्दा बढी राष्ट्रहरुमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ । यहि क्रममा कम्पनीले नेपालमा पनि यसको बिक्री सुरु गर्न लागेको हो ।

फोटोनले भारतमा पिएमआई कम्पनीसँग सहकार्य गर्दै ५०० करोड भारु लगानी गरेर एसम्बिङ प्लान्ट स्थापन गरेको छ । फोटोनका बसहरु उपभोक्ताको माग अनुसार भारत र चीन दुबै देशमा बनेर नेपाल आउने छन् । यी बसको मूल्य १ करोड ७५ लाखदेखि २ करोड रुपैयाँसम्म पर्ने छ ।

वातावरण मैत्री र अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वार्षिक कर समेत नलाग्ने हुँदा गाडी सञ्चालन पश्चात् यसको मर्मत खर्चसमेत कम हुने छ । नेपाल सरकार मातहतका विभिन्न संस्थाहरुले बिजुली गाडीको सहज सञ्चालनका निम्ती चार्जिङ्ग स्टेशनहरु निर्माण लगायतका काम अगाडि बढाएकाले विद्युतीय बसको माग बढ्दै जाने देखिन्छ ।

बिजुलीबाट चल्ने यस्ता बसहरु नेपाल सरकार र व्यवसायीहरुले समेत किन्न सुरु गरिसकेका छन् । अत्याधुनिक सुविधा सहित उपलब्ध हुने बिजुली बसहरु पेट्रोलियम पदार्थबाट चल्ने बसभन्दा झन्डै तिन गुणा महङ्गो पर्ने भएपनि यसको संचालन खर्च निकै कम रहेकाले धेरैको ध्यान यस्ता साधनहरुले खिच्न सफल भएको छ ।

लिथियम आयोन ब्याट्रीबाट सञ्चालन हुने यस्ता बिजुली बस विश्वले नै प्राथमिकता दिएर प्रयोगमा ल्याउन लागेको समयमा फोटोनले नेपाल ल्याउन लागेको जनाएको छ ।


Back_to_top