काठमाडौं । पाँच दिनअघि भन्सार छुटेको टेस्ला मोडल थ्री कार किया निरो र हुन्डाई कोनाको १५० किलोवाट मोटर प्रयोग भएको भेरियन्टभन्दा कम मूल्यमा नेपाल प्रबेश गरेको देखिन्छ । ३५ हजार डलर मूल्यमा खरिद भएर आएको टेस्ला मोडल थ्रीको सुरुवाती भेरियन्ट समेत विश्वको कुनै पनि बजारमा यो मूल्यमा किन्न पाइदैन । हङकङबाट नेपाल ल्याइएको टेस्ला मोडल थ्री भने ३५ हजार डलरमा नै आएको कागजपत्र तयारगरि भन्सार जाँच पास गरिएको छ ।
३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको कारलाई १४७ किलोवाटको मोटरभन्दै करिब ३८ लाख ३६ हजार राजस्व चोरी गरेर नेपाल ल्याइएको टेस्ला कारले ग्राहकलाई कुनै किसिमको आधिकारीक सुविधा समेत नदिने सर्तमा गाडी ल्याएको पाइएको छ ।
साउथ चाइना एक्जीम लिमिटेडले नेपालको अरेटी इन्टरनेशनलसँग गरेको सम्झौँताले पनि टेस्लाका कार नेपालमा दिदा नेपाल आएपछि गाडीमा आउने समस्यासँग साउथ चाइनाको कुनै सम्बन्ध नभएको उल्लेख गरिएको छ ।

गाडीको स्वीकृतिले घरेलु वैधता मात्र पाएकोले निर्यातको लागि वैधता मान्य नहुने उल्लेख गरिएको छ । साथै, आयात, यातायात, लजिस्टिक्स, स्थानिय अधिकारीको स्वीकृति, दर्ता लगायत विषयमा साउथ चाइनाको कुनै सहयोग नहुने विषय प्रस्टसँग उल्लेख गरिएको छ । यसको मतलब कम्पनीले टेस्लाको आधिकारिक च्यानल बाहिर गएर आयात वा निर्यात सहजताको लागि कागजपत्र, टेस्ट रिपोर्ट र अन्य प्रमाणिकरणको लागि आवस्यक पर्ने कागज पत्र दिदैन भन्ने हो ।
यी गाडी नेपालमा चल्न सुरु भएपछि आवश्यक पर्ने कुनै सेवा साउथ चाइनाले उपलब्ध नगराउने उल्लेख गरेको छ । यसको मतलब ग्राहकहरुले निर्यात बैधता अन्तर्गत टेस्लाको कुनै पनि सेवा प्राप्त गर्न सक्ने छैनन् । स्वीकृति पाएको सम्बन्धित देश बाहिर टेस्ला गाडीको सेवा सम्बन्धि सबै खर्च ग्राहक स्वंयको दायित्व भित्र पर्छ । गाडीको कुनै किसिमको वारेन्टी समेत ग्राहकले पाउने छैनन् ।
त्योभन्दा पनि कम्पनीले गाडीमा समावेश फिचरहरुले काम नगर्न सक्ने, निर्यात गरिएको क्षेत्रमा गाडीको चार्जिङले काम नगर्न सक्ने, ग्रिडले गाडीको चार्जिङ प्रणालीलाई ‘सपोर्ट’ नगर्न सक्ने र ग्राहकले गाडी चार्ज गर्न नसक्ने अवस्था आएमा पनि कम्पनी जिम्मेवार नहुने विषय उल्लेख गरिएको छ ।
याे पनि पढ्नुहाेस् : अन्डर विलिङमा गाडी आयात ! एउटै गाडीमा ३८ लाख ३६ हजार राजस्व चोरी


