काठमाडौं । मारुती सुजुकीको चर्चित भ्यान ओम्नीको इलेक्ट्रीक स्केच बाहिर आएको छ । अहिले धेरै डिजिटल प्ल्याटफर्ममा काम गर्ने डिजाइनरहरुले पुराना गाडीको नयाँ डिजाइन प्रस्तुत गरिरहेका छन् ।
डिजाइनर शशांक शेखरले तयार गरेको मारुती सुजुकी ओम्नी अहिले निकै चर्चामा रहेको छ । शेखरले ओम्नीको नयाँ जेनेरेशन इलेक्ट्रीक कार कस्तो रहने भन्ने आफ्नो डिजाइनमा प्रस्तुत गरेका छन् ।
उनले बनाएको नयाँ डिजाइनको इलेक्ट्रीक ओम्नीको बडी डिजाइन पुरानै जस्तो छ । अनले ओम्नीको अगाडि भागमा एलइडी हेडल्याम्पको साथमा डेटाइम रनिङ लाइट दिएका छन् । दुई हेडल्याम्पको बीचमा सुजुकीको लोगो दिइएको छ । बम्परको तल्लो भागमा रहेको फगल्याम्पले गाडीलाई निकै आकर्षक देखाएको छ ।
डिजाइनमा शेखरले पहिलेको तुलनमा नयाँ ओम्नीलाई केहि लामो बनाएका छन् । यसमा पनि स्लाइड डोरको नै प्रयोग गरिएको छ । पछाडिको लाइट पनि एलइडी दिइएको छ ।
उनले यसमा दिइने मोटर, व्याट्री लगायत विषयमा केहि उल्लेख गरेका छैनन् । सन् २०१९ मा बीएस ६ मा अपग्रेड नगर्ने निर्णय गरेको ओम्नीको नयाँ डिजाइनले कम्पनीलाई पनि लोभ्याउने अपेक्षा गरिएको छ ।
नेपालमा पनि निकै सफल भएको ओम्नी भ्यान मूल्यका हिसावले पनि उत्कृष्ट रहेको मानिन्छ । सन् २०१९ देखि नेपालमा पनि यसको विक्री बन्द भएको थियो ।


