काठमाडौं । स्थापनाको ७५ वर्षपछि बजाज मोटरसाइकल विश्वकै सर्वाधिक ब्राण्ड भ्यालू भएको मोटरसाइकल कम्पनी बन्न सफल भएको छ ।
नेशनल स्टक एक्स्चेन्ज अफ इन्डिया लिमिटेड (एनएसई) मा शुक्रबार बजाज मोटरसाइकल कम्पनीको सेयर मूल्य ३ हजार ४७९ भारतीय रुपैयाँ पुगेसँगै बजाजको मार्केट क्यापिटलाइजेशन १ लाख ६७० करोड पुगेको हो । यो अहिले विश्वमा मोटरसाइकल उत्पादन गर्ने कम्पनीहरु मध्ये सर्वाधिक क्यापिटलाइजेशन भएको कम्पनी बनेको हो ।
यसअघि पनि कुनैपनि मोटरसाइकल उत्पादक कम्पनीको क्यापिटलाइजेशन यति पुगेको थिएन । बजाजले भारतमा बनाउने पल्सर सिरिजका मोटरसाइकल विश्वका ७० देशमा विक्री वितरण हुँदै आएको छ भने भारतमा मोटरसाइकल बनाएर सर्वाधिक निर्यात गर्ने कम्पनी पनि बजाज हो ।
बजाजको पल्सर सिरिज, बक्सर, आई रिक्सा र प्लाटिना मोटरसाइकल सफल मोडल हुन् भने डोमिनार र एभेन्जर क्रुजर मोटरसाइकल पनि धेरै रुचाइने मोटरसाइकलमा पर्छ ।
अन्तर्राष्ट्रिय मोटरसाइल ब्राण्डसँग साझेदारीमा पनि बजाज निकै अगाडि रहेको छ । कम्पनीले अष्ट्रियन ब्राण्ड केटीएम, स्वीडिस ब्राण्ड हस्कभर्ना र वेलायती ब्राण्ड ट्रायम्फसँग सहकार्य गर्दै आएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक राजिव बजाजले विश्वकै सर्वाधिक क्यापिटलाइजेशन भएको कम्पनी बनेपछि अफुहरुलाई अगाडिको यात्रा तय गर्न थप उत्साहित बनाएको प्रतिक्रिया दिए ।

