जनवरी महिनामा ५ नयाँ एसयूभी सार्वजनिक हुँदै, सबै नेपाल आउने

काठमाडौं । यहि जनवरी महिनामा विभिन्न कम्पनीका ५ मिडसाइज र प्रिमियम एसयूभी बजारमा आउने भएका छन् । भारतमा उत्पादन भएका यी सबै एसयूभी नेपाली बजारमा विस्तारै आउने छन् ।

नयाँ एसयूभी बजारमा ल्याउनेमा टाटा, जीप, टोयोटा र एमजी रहेका छन् । यी मध्ये एमजीको भारतमा उत्पादन भएको मोडल नेपाल आएको छैन । तर, नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले चाँडै भारतमा उत्पादित एसयूभी नेपाल ल्याउने बताएको छ ।

जनवरीमा टाटाले आफ्नो नयाँ मोडल ग्राभिटास बजारमा ल्याउँदै छ । कम्पनीले आगामी जनवरी २६ तारिखमा यसलाई बजारमा उतार्ने छ । ६ सिट र ७ सिट क्षमताको दुई अलग भेरियन्ट रहने ग्राभिटासमा २.० लिटरको डिजेल र १.५ लिटरको टर्बो इन्जिन उपलब्ध रहने छ ।

जीपले कम्पासको फेसलिफ्ट मोडल अर्को हप्ता ७ तारिखमा बजारमा ल्याउने भएको छ । कम्पनीले २०१७ मा ल्याएको कम्पासको पूर्ण फेसलिफ्ट गर्न लागेको हो । कम्पास फेसलिफ्टमा पनि २.० लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिन रहने छ । यसलाई नेपाली बजारमा पनि जनवरी अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

एमजीले हेक्टरको फेसलिफ्ट मोडल जनवरी अन्तिम साता सार्वजनिक गर्ने तयारी भइरहेको छ । तर, यसको एकिन मिति घोषणा भएको छेन । ७ सिट क्षमताको साथ आउने एमजीको हेक्टर फेसलिफ्टमा २.० टर्बो डिजेल र १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा आउने छ ।

टोयोटाले फर्चुनरको दुई मोडल एकै साथ बजारमा ल्याउँदै छ । कम्पनीले ल्याउने फर्चुनर फेसलिफ्ट र नयाँ मोडल लिजेन्डर बजारमा आउन लागेका दुई प्रिमियम एसयूभी हुन् । आगामी जनवरी ६ तारिखमा सार्वजनिक गर्ने यी दुई एसयूभीमा २.८ लिटर डिजेल र २.७ लिटर पेट्रोल इन्जिन दिइएको छ ।


Back_to_top