चाँडै नेपाल आउन सक्छन् यी ३ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले करका दरमा वृद्धि गरेसँगै २०७७ मा विद्युतीय कारको आयात ठप्प प्रायः भयो । २०७६ सालमा करिब ८०० यूनिट विद्युतीय कार आयात भएकोमा २०७७ को सुरुवातमा आयात भएको केहि यूनिट बाहेक ठूलो परिमाणमा विद्युतीय कार आयात हुन सकेको छैन ।

सरकारले बजेट ल्याउने केहि दिनअघि आयात भएको एमजी इजेडएस १२० यूनिट र महिन्द्रा इटुओ २८ यूनिट नै यसवर्ष आयात भएको ठूलो परिमाण हो । त्यसपछि दिगो इलेक्ट्रीक कार र डेरी ब्राण्डका केहि यूनिट इलेक्ट्रीक कार आयात भएको भएपनि यसको परिमाण धेरै ठूलो छैन ।

किया र हुन्डाईले बजेटपछि नेपाल ल्याएका केहि यूनिट कोना र निरोपनि भन्सार छुटाउन थालेका छन् । एमजीले इजेडएस पनि नयाँ मूल्यसहित बुकिङ लिइरहेको छ । आगामी फेब्रुअरीसम्ममा इजेडएस नेपाल आउने कम्पनीले जनाएको छ । यसले बजेटपछि सुस्ताएको इलेक्ट्रीक कारको बजार विस्तारै चलमलाउन थालेको भान हुन्छ ।

यस्तोमा भारत र चीनमा उत्पादन हुने इलेक्ट्रीक कार नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । टाटा, महिन्द्रा र ग्रेटवाल मोटर्सले उत्पादन गरेका विद्युतीय कार यहि वर्ष नेपाल आउन सक्ने संभावना भएका कार हुन् ।

१. महिन्द्रा इकेयूभी १००

महिन्द्राले भारतमा मार्च २०२१ मा इकेयूभी १०० को विक्री सुरु गर्ने जनाएको छ । महिन्द्राका इलेक्ट्रीक कार नेपालमा अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले विक्री वितरण गर्दै आएको छ ।

कम्पनी स्रोतका अनुसार भारतमा सार्वजनिक भएको केहि दिन भित्रै महिन्द्रा केयूभी १०० नेपालमा सार्वजनिक गर्नेगरि काम भइरहेको बताइएको छ । यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीले गरेको छ ।

इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने जनाइएको छ । यो गाडीको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ ।

लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी–१०० करिब ३५ देखि ४० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ ।

२. टाटा नेक्सन इभी

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले अघिल्लो वर्ष नै नेक्सन इभी नेपाल ल्याउने तयारी गरेको थियो । तर, सरकारले बजेट मार्फत कर बढाएसँगै कम्पनीले यसलाई नेपाल ल्याउने प्रक्रिया रोकेको थियो । अहिले भारतमा पनि सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभीको रुपमा नेक्सन इभी उदाएसँगै कम्पनीले यसलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

भारतमा १४ लाखदेखि १६ लाख भारतीय रुपैयाँ मूल्य निर्धारण गरेर विक्री भइरहेको नेक्सन इभी टाटाको जिपट्रोन टेक्नोलोजीमा आधारित रहेको छ । यसलाई एकपटकको फुलचार्जमा ३१३ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

यसमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेनसिटी लिथियम आयोन ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

यसमा रहेको ९५ किलोवाटको मोटरले १२९ पिएस तथा २४५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट हिलरअप तथा हिलरडिसेन्ड असिस्ट दिएको छ । टाटाले पहिलो पटक यस कारमा सनरुफसमेत दिएकोले भारतमा यसको माग बढ्दै गएको छ ।

नयाँ ३५ प्रकारको कनेक्टेड फिचर उपलब्ध नेक्सनलाई स्मार्ट फोनको एपको माध्यमबाटै स्क्यान समेत गर्न सकिने कम्पनीले जनाएको छ । जसको सहायताले कारको व्याट्री तथा मोटरका साथै अन्य टेक्नीकल पार्टसको स्टाटस थाहा पाउन सक्नेछ ।

यो एसयूभी इलेक्ट्रीकमा अहिलेसम्म कै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी बन्ने बाटोमा रहेको छ । यसमा २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

३. ओरा आर १

ग्रेटवाल मोटर्सको विद्युतीय सिटी कार ओरा आर १ नेपाल आउने भएको छ । विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले आधिकारीक डिलर पाएसँगै ओरा आर १ नेपाल आउने भएको हो ।

संसारकै सबैभन्दा सस्तो इलेक्ट्रीक कारको पहिचान बनाएको ओरा आर १ चीनमा ५ हजार ५ सय डलरमा विक्री हुँदै आएको छ । यस्तोमा नेपाल ल्याउन लागिएको यो इलेक्ट्रीक कार निकै चर्चामा रहेको छ । यसको मूल्य नेपालमा कति रहन्छ त्यो भने हेर्नलायक हुने छ ।

यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ भने ३३ किलोवाट कै इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसलाई प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा कुदाउन सकिने छ । एक पटकको फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता भएको यो कार अहिले चर्चामा रहेको छ ।

ओरा आर–१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।


Back_to_top